चलचित्र ‘मालिका’ का निर्माता तथा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो ।
सरकारले गएको फागुन २८ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यसयता कार्कीले सामाजिक सञ्जालमा सरकार र प्रहरीलाई लक्षित गरेर फेसबुकमा आक्रोशपूर्ण ‘स्टाटस’ लेख्दै आएका थिए । प्रहरीले अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनी विरुद्ध कुन मुद्धा चलाउने भन्ने प्रहरीले निधो गरिसकेको छ ।
पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् । उनी गएको वर्ष एक भव्य कार्यक्रमका बीच विप्लव समूहमा प्रवेश गरेका थिए । चलचित्र ‘मालिका’ को उनले कथा समेत लेखेका थिए ।