‘आप्पा’ मा दार्जिलिङदेखि सन्दकपुरसम्मको यात्राको कथा : दयाहाङ



अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘आप्पा’ नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने भएको छ । भारतको २५ हलमा फिल्म प्रदर्शन हुने निर्देशक अनमोल गुरुङले जानकारी दिए । शुक्रबार पोखरा र नारायणघाटमा पत्रकार अन्तरक्रिया गर्दै उनले धेरैपछि नेपाली चलचित्र नेपालसँगै भारतमा पनि एकैदिन रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे ।

उनले भने- ‘नेपाली चलचित्रको विदेशमा च्यारिटी शोजहरु प्रायः भइरहेका हुन्छन् तर एकसाथ हलमा रिलिज भने निकै कम हुने गर्छन् । ‘आप्पा’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुने चलचित्रमा परेको छ ।’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जिलिङ, सिलोङलगायतका शहरमा चलचित्र लाग्नेछ ।


उनले ‘आप्पा’ राम्रो बनेको दाबी समेत गरे । दर्शकलाई एकपटक हलसम्म पुगेर चलचित्र हेरिदिन उनको आग्रह छ । यस्तै, टाइटल क्यारेक्टरमा रहेका अभिनेता दयाहाङ राईले चलचित्रमा दार्जिलिङदेखि सन्दकपुरसम्मको यात्राको कथा रहेको बताए । उनी भन्छन्, ‘चलचित्रमा मैले बिर्खे नाम गरेको एक ड्राइभरको भूमिका निभाएको छु । त्यही ड्राइभरको वरिपरि नै चलचित्रको मूल कथा घुमेको छ ।’

एउटा ड्राइभरले गाडी चलाउँदा के-के भोग्नु पर्छ भन्ने मार्मिक कथा चलचित्रले उठान गरेको दयाहाङ बताउँछन् । एक छोरा र पिताको सम्बन्धको कथामा आधारित भएर बनेको यस चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

‘आप्पा’ मा दयाहाङका अलावा सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चासँगै बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको समेत मुख्य भूमिका रहेको छ । यसमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu