लामो समयदेखि चर्चामा रहेको चलचित्र ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिका गर्न अभिनेता राजेश हमालले अस्वीकार गरेपछि अभिनेता शिव श्रेष्ठको प्रवेश भएको छ । एकसमय हमाल र शिव एकअर्काका प्रतिस्पर्धी थिए । अब, चलचित्रमा शिवले प्रदीपको पिताको भूमिका निभाउनेछन् ।
मंगलबार दिउँसो शिवसँग निर्माण टिमले कागजी सम्झौता गरेको छ । उनले चलचित्रमा राजाको भूमिका निर्वाहा गर्नेछन् । उनका छोरा अर्थात् राजकुमारको भूमिकामा प्रदीप र नव-अभिनेता मनिष राउत देखिनेछन् । भूमिका छोटो भए पनि उत्कृष्ट भएका कारण चलचित्रमा काम गर्न राजी भएको शिवले बताएका छन् । उनी चलचित्र ‘बागमती’ पछि पर्दामा देखिएका थिएनन् ।
शिवको प्रवेशसँगै दर्शकमा ‘प्रेमगीत ३’ प्रति झनै उत्सुकता बढेको छ । प्रदीप र शिवको जोडीलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । शिवसँगै चलचित्रमा ‘राते काइला’ उपनामले परिचित सुनिल थापा पनि भित्रिएका छन् । उनको पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका रहेको निर्माता सन्तोष सेनले जानकारी दिए । चलचित्र २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर बन्न लागेको हो ।
अहिले निर्माण टिम ‘गीत’ क्यारेक्टरका लागि आवेदन दिएका युवतीहरुको अडिसनमा व्यस्त छ । केही दिनमा एक युवतीलाई चलचित्रमा छनोट गरिने निर्माता सेनको भनाई छ । ‘गीत’ क्यारेक्टरका लागि २७ सय बढीले आवेदन दिएकोमा २५ जना ‘सर्टलिस्ट’ मा परेका थिए । यी मध्येबाट निर्माण टिमले उत्कृष्ट ६ समेत छानिसकेको छ । चैत २८ मा रिलिज हुने चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्दैछन् ।