हलमा प्रदर्शनको ५१ औं दिने बाटोमा प्रदर्शनरत मल्टीस्टारर चलचित्र ‘जात्रै जात्रा’ देखिएको छ । गएको शुक्रबारबाट चलचित्रले पाँचौ हप्तामा प्रदर्शन सुरु गरेको छ । कुनै ठूला नेपाली चलचित्र रिलिज नहुनु र आश गरिएको बलिउड चलचित्रले पनि दर्शक निराश बनाउँँदा यो चलचित्रलाई गजबकै फाइदा भएको छ ।
अब, हलमा २० दिन टिकेको खण्डमा यस चलचित्रले प्रदर्शनको ५१ औं दिने मनाउनेछ । केही हप्तायता यसका निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत अष्ट्रेलियामा छन् । चलचित्रको अष्ट्रेलियामा लगातार शो भइरहेको छ । सबै शो हाउसफुल भएको निर्देशक भट्टराई बताउँछन् । नेपालमा पनि चलचित्रले पाँचौ हप्तामा राम्रो व्यापार गरिरहेको रिपोर्ट प्राप्त छ ।
यसले राजधानीका मल्टीप्लेक्सहरुमा नयाँ नेपाली चलचित्रभन्दा पनि राम्रो सोज र दर्शक पाइरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण सिंगल थिएटरमा पनि चलचित्रको उपस्थिति अझै दरिलो छ । चलचित्रले केही मल्टीप्लेक्स र आधा दर्जन बढी सिंगल थिएटरमा प्रदर्शनको ५१ औं दिने मनाउने चलचित्र पण्डितहरुको विश्लेषण छ । यसअघि भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’ र ‘जात्रा’ ले पनि ५१ दिने यात्रा तय गरेको थियो ।
ब्लकबस्टरको बाटोमा रहेको ‘जात्रै जात्रा’ ले चौथो हप्तासम्म घरेलु बजारबाट ८ करोडको व्यापार गरेको निर्माण टिमबाट जानकारी प्राप्त छ । अष्ट्रेलियाबाट निर्देशक प्रदीप भन्छन्, ‘पाँचौ हप्तामा पनि हलमा दर्शकको संख्या घटेको छैन । चलचित्रले हलमा ५१ औं दिने बनाउनेमा हामी विश्वस्त छौं ।’ यस चलचित्रले दर्शक र समीक्षकबाट उत्कृष्ट तारिफ बटुलेको छ ।