‘भारत’ को लागि दिएको ‘स्टे अर्डर’ अदालतले गर्‍यो बदर



काठमाडौं जिल्ला अदालतले बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘भारत’ को लागि दिएको ‘स्टे अर्डर’ खारेज गरेको छ । चलचित्र विकास बोर्डले नेपाली चलचित्र शुक्रबार प्रदर्शन हुने नियम विदेशी चलचित्रको हकमा पनि लागू हुने निर्णय लिएको थियो । बलिउड चलचित्र ‘कलंक’ लाई बुधबार रिलिज गर्न रोको बोर्डले ‘भारत’ लाई पनि रोक्ने तयारीमा थियो ।

तर, वितरक कम्पनी ब्याङ्कटेस इन्टरटेन्मेन्टका मनोज राठीले काठमाडौं जिल्ला अदालतमा विदेशी चलचित्र शुक्रबारमात्र रिलिज गर्नुपर्ने बोर्डको निर्णय विरुद्ध रिट दायर गरे । अदालतले पनि उनको पक्षमा फैसला सुनाउँदै स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न बोर्डलाई सचेत गरायो । साथै, ‘भारत’ बुधबार नै नेपाल रिलिज गर्न दिन आदेश थियो । अदालतको आदेशसँगै विदेशी चलचित्र नेपालमा जुनसुकै दिन प्रदर्शनका लागि खुल्ला भयो ।


ठूला बजेटका विदेशी चलचित्र जुनसुकै दिन प्रदर्शनमा आउँदा नेपाली फिल्मलाई मार पर्ने भएकाले बोर्डले सबै भाषाका चलचित्र शुक्रबार मात्र रिलिज गर्नुपर्ने निर्णय गरेको थियो । तर, अदालतको आदेशले बोर्डको निर्णयमा ठूलो धक्का पुग्यो । अदालतको ‘स्टे अर्डर’ पछि बोर्डले ‘भारत’ बुधबार नै नेपाल रिलिजका लागि बाटो खोलिदिएपछि काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरण पठायो ।

बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले शुक्रबार ‘भारत’ का लागि दिएको ‘स्टे अर्डर’ खारेज गरेको छ । अदालतले उक्त निर्णय खारेज गरेसँगै सोही प्रकृतिका मुद्धाहरु अब अदालतमा नजाने विकास बोर्डले जनाएको छ । ‘भारत’ बुधबार प्रदर्शनका लागि वितरक राठीले एक पक्षिय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेका थिए र अदालतले त्यसको पूर्ण कारवाहीलाई थाती राख्दै ‘स्टे अर्डर’ दिएको थियो ।

विकास बोर्डको स्पष्टिकरणपछि अदालतले उक्त मुद्धालाई पूर्ण रुपमा कारवाही गर्दै ‘स्टे अर्डर’ खारेज गरेको हो । अदालतले ‘स्टे अर्डर’ बदर गरेसँगै अब सबै भाषाका चलचित्र शुक्रबारमात्र रिलिज हुने बोर्ड अध्यक्ष केशव भट्टराईले जानकारी दिए । उनी भन्छन्, ‘एउटा घटनाबाट सबै निर्माता र वितरकले पाठ सिक्न जरुरी छ । यो घटना कसैको फाइदा र बेफाइदाको लागि हैन । समग्र नेपाली फिल्मको पक्षमा, नेपाली चलचित्रको हितमा भएको हो ।’ अध्यक्ष भट्टराईले बोर्डले खुल्ला व्यापार नीतिलाई ध्यानमा राखेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu