बलिउड अभिनेता ऋतिक रोशनको बहुप्रतिक्षीत चलचित्र ‘सुपर ३०’ को ट्रेलर मंगलवार युट्युबमा सार्वजनिक भएको छ । यो चलचित्र बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित छ, जसमा आनन्दको भूमिका ऋतिकले निभाएका छन् । विकास बहल द्वारा निर्देशित यो चलचित्र १२ जुलाईमा रिलिज हुँदैछ ।
ट्रेलर हेर्दा ऋतिकले दुई वर्ष गरेको मिहिनेत स्पष्ट देखिन्छ । भने, चलचित्रले बक्सअफिस धूम मच्चाउने ट्रेलरबाट अनुमान लगाउन गाह्रो पर्दैन । यसमा मृणाल ठाकुर, अमित साध र नन्दिशा सन्धुको पनि अभिनय छ । ‘सुपर ३०’ मा आनन्द कुमारको कडा परिश्रमदेखि उनी सफल हुँदासम्मको संघर्ष देखाइएको छ ।
आनन्द कुमार एक यस्ता व्यक्ति हुन्, जसले गरिब र पिछडिएका वर्गका विद्यार्थीलाई आईआईटीको परिक्षा पास गर्न योग्य बनाएका थिए । उनको संस्था सुपर ३० ले रेकर्ड बनाएको थियो । ऋतिक आफ्नो यो चलचित्रलाई लिएर निकै उत्साहित छन् । यसमा उनी एक बिहारी पुरुषको भूमिकामा छन् । ट्रेलरमा उनी आफ्नो भूमिकामा फिट देखिएका छन् ।
गएको वर्ष शिक्षक दिवसको अवसरमा यस चलचित्रको पहिलो पोस्टर सार्वजनिक भएको थियो । र, यो चलचित्र गूगलको टप ट्रेन्ड्समा सामेल भएको थियो । गूगलले यो उपलब्धिलाई मान्यता दिँदै ‘सुपर ३०’ माथि एक छोटो भिडियो समेत बनाएको थियो, जसमा एक शिक्षक विद्यार्थीहरुलाई पढाइरहेका थिए । यसमा ऋतिक पहिलो पटक एक साधारण व्यक्तिको भूमिकामा देखिँदैछन् ।
ट्रेलर हेर्नुहोस् :-