दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ मा अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले चलचित्र निर्माण गर्ने भएका छन् । यो चलचित्रबाट उनले निर्देशनमा डेब्यू गर्दैछन् । नाटक ‘पानीफोटो’ लाई उनी स्वयंले लेखन र निर्देशन गरेका थिए । उनले नाटकलाई पुस्तकमा समेत ढालिसकेका छन् । अब, उनले उक्त नाटकलाई चलचित्रको रुप दिन लागेका हुन् ।
‘पानीफोटो’ को आइतवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । आउँदो भदौबाट छायांकन सुरु हुने चलचित्रमा खगेन्द्रका अलावा सुनील पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ । काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा चलचित्र छायांकन हुनेछ । खगेन्द्रलाई निर्देशनमा अनिल खड्काले सघाउनेछन् ।
निर्देशक खगेन्द्रले ‘पानीफोटो’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने- ‘यो नाटकलाई चलचित्र बनाउँछु भन्ने सपना सन् २०११ तिर बुनेको थिएँ । धेरै दर्शकले यो नाटक रुचाउनुभएको थियो । यसलाई झन् धेरै दर्शकमाझ पुर्याउन मन थियो, जुन चलचित्रबाट मात्र सम्भव थियो । यद्यपि, मैले पुस्तक भने निकालेको थिएँ । तर, चलचित्र नै बनाउने सपना थियो, जुन अब पूरा हुँदैछ ।’ उनी चलचित्र राम्रो बनाउन आफ्नो तर्फबाट कुनै कसर नछाड्ने बताउँछन् ।
प्रायः आफूले लेखेको कथामा मात्र चलचित्र गर्दै आइरहेका खगेन्द्रले आफूलाई अभिनेताको रुपमा मात्र काम गर्ने इच्छा रहेको पनि बताए । अब आफ्नै निर्देशनमा मात्र चलचित्र गर्ने सोच त होइन ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- ‘यो नाटकलाई चलचित्र बनाउँदा आफैंले निर्देशन गर्छु भन्ने सोचेको थिएँ । त्यसैले आफैंले निर्देशन गर्न लागेको हुँ । अब अरु निर्देशकसँग काम नगर्नका लागि आफैं निर्देशनमा होमिएको भने होइन । म सबै निर्देशकसँग काम गर्न चाहन्छु ।’
अभिनेता टर्न निर्देशक खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झनाहरु पनि समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई चलचित्र बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले चलचित्र निर्माणमा लागेपछि सिकेका कुराहरुलाई सदुपयोग गरि इमान्दारितापूर्वक ‘पानीफोटो’ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस चलचित्रलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।
‘पानीफोटो’ पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पखाईमा बसेका बुबा-आमाको कथामा आधारित भएर बन्नेछ । चलचित्रलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । चलचित्रलाई दीपक बज्राचार्यले खिच्नेछन् । भने, सम्पादनको जिम्मेवारी निमेष श्रेष्ठ र अर्जुन कार्कीको काँधमा छ । पुष्पा संगमले फिल्ममा पाश्र्व संगीत दिनेछन् । कलाकार सुनील पोखरेलले आफ्नो भूमिका मन परेपछि काम गर्न तयार भएको बताए ।