अभिनेत्री विनिता बरालले करीब ५ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट’ बाट नसोचेको लोकप्रियता आर्जन गरिन् । एउटै चलचित्रले उनलाई शहरिया युवापुस्तामाझ परिचित गराएको थियो । तर, उनले आफ्नो ‘चार्म’ धेरै समय बचाइराख्न सकिनन् ।
‘चपली हाइट’ पछि कुनै चलचित्र सफल नहुँदा काँचको पर्दाबाट उनी विस्तारै टाढिइन् । र, नीजि लगानीमा कृषि फार्म खोलिन् । करीब दुई वर्ष अगाडि कृषि विषयमा अध्ययन गर्न भन्दै अमेरिका हानिएकी उनले विवाह गरेकी छन् । उनले मंगलवार अमेरिकाको पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ मा प्रेमी तिलक पौडेलसँग विवाह गरेकी हुन् ।
अभिनेत्री विनिताले विवाहका केही तश्बिरहरु आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तश्बिरमा उनी दुलहीको पहिरनमा निकै सुन्दर देखिएकी छन् । भने, केही तश्बिरमा श्रीमानसँग रोमान्टिक मुडमा पनि देखिएकी छन् । गएको वर्ष उनले प्रेमी पौडेलसँग इन्गेजमेन्ट गरेकी थिइन् । दुईको विवाह समारोहमा केही निकट आफन्तहरुको मात्र उपस्थिति रहेको बुझिएको छ ।
चलचित्रमा भविष्य सुरक्षित नदेखेपछि अभिनेत्री बराल कृषि पेशामा समेत आबद्ध भएकी थिइन् । उनले टोखामा १० रोपनी जग्गा भाडामा लिएर केही साथीहरुसँग मिलेर तरकारी खेती गरेकी थिइन् । तर, उनी कृषि पेशामा पनि लामो समय टिक्न सकिनन् । अन्ततः उनी चलचित्र क्षेत्र र कृषि पेशा नै त्यागेर अमेरिका पलायन भइन् । उनी अभिनीत पछिल्लो चलचित्र ‘उमंग’ हो ।