‘रातो टिका निधारमा’ को छायांकन सुरु



दशैंमा प्रदर्शनमा आउने लक्ष्यसहित चलचित्र ‘रातो टिका निधारमा’ को शुक्रवारबाट छायांकन सुरु भएको छ । चलचित्रको छायांकन शिर्ष गीतबाट भएको हो । झापाको अर्जुनधारा जलेश्वर धाममा भब्य सेट तयार गरेर चलचित्रको गीतको छायांकन भइरहेको निर्देशक अशोक शर्माले जानकारी दिएका छन् । गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मा फिचर्ड हुनेछन् ।

निर्देशक शर्मा निर्देशित दशक अगाडिको सुपरहिट चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ बोलका गीतमा भने अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले ठुम्का लगाएका थिए । यो गीतलाई रिमेक गरेर चलचित्र ‘रातो टिका निधारमा’ मा समावेश गरिएको छ । आकर्षक सेटमा चलचित्रको गीतको छायांकन भइरहेको निर्देशक शर्माले बताए । गीतमा ठूलो लगानी गरिएको पनि उनले बताए ।


निर्देशक तथा निर्माता शर्माले गीतको छायांकनका लागि तयार गरिएको सेट र कलाकारहरुको लुक्स पनि सार्वजनिक गरेका छन् । प्राप्त तश्बिरमा अंकित र साम्राज्ञीलाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ । भने, निधारमा रातो टिका र कपालमा जमरा लगाएका छन् । निर्देशक शर्माका छोरा अंकितले यही चलचित्रबाट डेब्यू गर्न लागेका हुन् । यसमा अभिनेत्री साम्राज्ञीले गाउँले भूमिका निभाउँदैछिन् ।

छायांकन भइरहेको चलचित्रको शिर्ष गीतमा नीता ढुंगाना, खुश्बु खड्का, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरु पनि देखिनेछन् । गीतको छायांकनका लागि जलेश्वर धामलाई आकर्षक रुपमा सजाइएको छ । गीतलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । निर्देशक शर्माले शिर्ष गीतलाई उत्कृष्ट बनाउन निकै मिहिनेत गरेको बताए ।


चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने चलचित्रका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । चलचित्रका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि। मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu