दीपकराज गिरी र दीपाश्री निरौला समहुको नयाँ चलचित्र ‘छ माया छपक्कै’ को सिन्धुलीबाट छायांकन सुरु भएको छ । बिहीवारबाट छायांकन आरम्भ भएको यस चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । निर्माता रोहित अधिकारीको ब्यानर रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्र दीपक र दीपाको समुहले ५० प्रतिशत मुनाफा लिने सर्तमा काम गर्न लागेको हो ।
‘छ माया छपक्कै’ मा निर्देशक लामालाई निर्देशनमा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले सघाउने छिन् । निर्माण टिमले यो चलचित्रलाई दशैंमा प्रदर्शन गर्ने लक्ष्य बनाएको छ । रिलिज अगावै चलचित्रले बक्सअफिसमा रेकर्डतोड व्यापार गर्ने आँकलन फिल्मवृतमा सुरु भइसकेको छ । चलचित्रको सुटिङ सेड्युल एक महिनाको छ ।
चलचित्रमा कलाकार दीपकराज गिरीले अभिनेत्री केकी अधिकारीसँग रोमान्स गर्दैछन् । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा केदार घिमिरे, जितु नेपाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्र खिच्ने जिम्मेवारी हरि हुमागाइँको काँधमा छ । रोशन श्रेष्ठको द्वन्द्व रहने चलचित्रमा दीपक शर्माको संगीत छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गर्नेछन् । निर्देशक लामाको कथा रहेको चलचित्रको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार चलचित्रका कार्यकारी निर्माता हुन् । निर्देशक लामाले यो चलचित्र ‘छक्का पञ्जा’ फ्रेन्चाइजको निरन्तरता नभएको बताएका छन् ।