‘ब्रेकअपपछि स्ट्रोङ भएँ’ : नीता, आमेश भन्छन्, ‘हाम्रो मित्रता कहिल्यै टुट्दैन’ (भिडियो)



करीब २ वर्ष अगाडि गहिरो प्रेममा रहेको जोडी हो- नीता ढुंगाना र आमेश भण्डारी । चलचित्र ‘तँ म र ऊ’ को सेटबाट दुईको प्रेमले जरा गाँडेको थियो । दुईले दोस्रो पटक चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ मा पनि स्क्रिन साझेदार गरे । तर, यो चलचित्र प्रदर्शनमा आएसँगै दुईको प्रेम पनि दुई किनारा भयो । अर्थात् दुईको ब्रेकअप भयो ।

प्रेममा रहँदा करिअरलाई असर पर्ने बुझेर दुईले एकअर्काबाट टाढिने निर्णय लिएका थिए । एकसाथ स्क्रिन साझेदार गरेको दुई चलचित्र असफल हुनु पनि दुईको ब्रेकअप हुनुको प्रमुख कारण मानिएको छ । सहमतीमै प्रेम सम्बन्ध टुंग्याउने निर्णय लिए पनि दुईलाई प्रेममा रहँदा विताएका पल विर्सन सजिलो थिएन । ब्रेकअपको पीडा भुल्न उनीहरुलाई लामो समय लागेको थियो ।

ब्रेकअप पश्चात् दुई ठूलो पर्दामा देखिएका छैनन् । तर, प्रायः भेट भने भइरहेको हुन्छ । हालै दुईले ब्रेकअपपछि पहिलो पटक साथमा एक म्यूजिक भिडियोमा काम गरेका छन् । गीतसँगै राम्रो पारिश्रमिक पाएका कारण दुईले साथमा भिडियोमा काम गर्न राजी भएको बताएका छन् । एकसाथ भिडियोमा काम गरेपछि फेरि एकपटक नीता र आमेश मिडियाको लाइमलाइटमा परेका छन् ।

भिडियोको प्रचार-प्रसारमा व्यस्त दुबैले प्रेम सम्बन्ध टुंगिए पनि साथीको सम्बन्ध झन् प्रगाढ भएको बताएका छन् । दुबै एकअर्कालाई सच्चा साथी बताउँछन् । भिडियोको छायांकनको क्रममा सञ्चारमाध्यमसँग कुराकानी गर्दै आमेशले ब्रेकअप हुँदैमा मित्रता पनि तोड्नु राम्रो नहुने बताए । ब्रेकअपको भएको करीब ६ महिना आफू निकै पीडामा रहेको पनि उनको भनाई छ ।


‘हामीले एकअर्कालाई राम्रोसँग बुझ्नका लागि प्रेममा ग्याप लिएका थियौं । तर, ग्याप अलि लामो भइदियो । यद्यपि, हामीले प्रेम सम्बन्ध टुंग्याए पनि साथीको सम्बन्ध कहिले तोडिदैन’, उनले ब्रेकअप गर्नुको कारण खुलाउँदै भने- ‘हाम्रो सम्बन्धले राम्रोसँग काम गरिरहेको थिएन । दुबैको करिअरमा पनि असर गरिरहेको थियो । त्यसैले प्रेम सम्बन्ध टुंग्यायौं ।’ उनले ब्रेकअप भए पनि नीताप्रति आफ्नो प्रेम र सम्मान सधैं रहने बताए ।

अभिनेत्री नीता पनि आमेशको कुरामा सहमती जनाउँछिन् । ब्रेकअप भएपछि जीवन बुझ्ने अवसर पाएको उनको भनाई छ । ठूलो पर्दासँगको कुराकानीमा उनी भन्छिन्, ‘ब्रेकअप पश्चात् म अझै स्ट्रोङ भएको छु । अहिले सानोतिनो कुराहरुले मन दुख्दो रहनेछ । पहिला चाहिँ म एकदम इनोसेन्ट थिएँ । यसको सबै श्रेय आमेशलाई जान्छ ।’ नीता, आमेशको प्रगति नै आफ्नो प्रगति मान्छिन् । उनी आफूहरु बीच साथीको सम्बन्ध सधैं रहने बताउँछिन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu