सन् २०१० मा मनोज पण्डित निर्देशित चलचित्र ‘दासढुंगा’ को च्याप्टर २ निर्माण हुने भएको छ । २०५० जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रतिको दासढुंगामा भएको रहस्यमय दुर्घटनामा आधारित भएर निर्माण हुने चलचित्रलाई कुमार भट्टराईले निर्देशन गर्दैछन् ।
दासढुंगा काण्डपछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई चलचित्र ‘दासढुंगा २’ ले उठाउने र यसका लागि अहिले अनुसन्धान भइरहेको निर्माता अपिल विष्टले जानकारी दिए । सोमवार चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ, जहाँ ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दर्घटना’ लाई चलचित्रले केलाउने उल्लेख छ ।
चलचित्रले दासढुंगा हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नलाई धेरै हदसम्म चिरफार गर्ने विष्टले बताए । चलचित्रमा अभिनय गर्ने कलाकारको टुंगो भने लागिसकेको छैन । केही दिनमा लिड रोलमा अभिनय गर्ने कलाकार फाइनल हुने निर्देशक भट्टराईले बताए । चाप्टर २ मा ‘दासढुंगा’ का केही कलाकारहरु पनि दोहोरिनेछन् । भने, केही नयाँको प्रवेश हुनेछ ।
अपिल विष्ट फिल्मसको प्रस्तुति रहने चलचित्रसँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने चलचित्रमा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । ‘दासढुंगा’ मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राईलगायतको अभिनय थियो ।