शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता द्वय पल शाह र नाजिर हुसेनको प्रमुख भूमिका रहेको चलचित्र ‘बीर विक्रम २’ ले शुक्रवार अपेक्षाकृत व्यापार गर्न नसके पनि शनिवार निकै राम्रो छ । पहिलो दिनको तुलानामा शनिवार चलचित्रले व्यापारमा निकै ठूलो फड्को मारेको छ । शनिवार चलचित्र देशैभर हाउसफुलका साथ प्रदर्शन भइरहेको रिपोर्ट प्राप्त छ । चलचित्रको मल्टीप्लेक्स तर्फभन्दा सिंगल थिएटरमा व्यापार राम्रो छ ।
शुक्रवारदेखि नै राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेको चलचित्रको जम्बो टिमले शनिवार पनि यसलाई निरन्तरता दिएको छ । बिहान १० बजे बालाजु वाइपासको अष्टनारायण हलमा पुगेका चलचित्रका निर्देशक मिलन चाम्स, कलाकारहरु पल, नाजिर, वर्षा सिवाकोटी, बुद्धि तामाङले दिउँसो चावहिलको गोपीकृष्ण हलमा पनि हजारौं दर्शकसँग साक्षात्कार गरे ।
दुबै हलमा चलचित्रका कलाकारहरुको गजबको क्रेज देखिएको थियो । १४ महिनापछि ठूलो पर्दामा फर्किएका अभिनेता पललाई देखेपछि रुने र चिच्याउने युवतीहरु यसपटक पनि कम देखिएनन् । उनले पनि आफ्ना प्रशंसकलाई हात जोडेर धन्यवाद व्यक्त गरे । उनको एक झल्को हेर्नका लागि कति युवतीहरु बिहानैदेखि गोपीकृष्ण पुगेका थिए । पलले आफ्ना केही ‘डाइहार्ट फ्यान’ लाई सेल्फी र अटोग्राफ पनि दिए ।
पल र नाजिरले संयूक्त रुपमा गोपीकृष्णको बालकुनीमा उभिएर चलचित्रमा बोलेको मनछुने संवाद ‘एक दुई तीन’ भन्दा हजारौं दर्शकले एकसाथ ‘छेपारो छिन’ भन्दै साथ दिएका थिए । निर्देशक चाम्स भने दर्शकको ठूलो भीडलाई आफ्नो मोवाइलमा कैद गर्न व्यस्त देखिन्थे । दर्शकको उत्साहजनक उपस्थितिले उनको अनुहारमा खुसी छाएको थियो । वर्षा र बुद्धिले चलचित्र रुचाइदिएकोमा दर्शकलाई धन्यवाद व्यक्त गरे ।
बुद्धिले चलचित्र हेरेका दर्शकले आफूलाई ‘बाघ बहादुर’ को रुपमा सम्बोधन गरेकोमा खुसीले गदगद भएको बताए । ‘पहिलो पटक चुनौतीपूर्ण भूमिका (नेगेटिभ रोल) निभाएका कारण मनमा डर थियो । पहिलाको क्यारेक्टर (हैट) ले यसलाई ‘लोभरल्याप’ गर्दा भन्ने पनि ठूलो डर थियो । तर, हलबाट निस्किएका सबै दर्शकले ‘बाघ बहादुर’ भनेर बोलाएपछि एकदमै खुसी छु’, उनी सुनिए ।
२४ घण्टामा ‘बीर विक्रम २’ गर्न राजी भएको सम्झिँदै अभिनेता पलले आफ्नो निर्णय हतार र गलत नभएको बताए । संवाददातासँग गफिँदै उनले भने- ‘मैले छोटो समयमा पहिलो पटक साइन गरेको फिल्म हो यो । चलचित्र साइन गर्दा नै दर्शकको साथ र माया पाउँछु भन्नेमा म विश्वस्त थिएँ । अहिले त्यो हलमा देखिएको पनि छ ।’ उनले चलचित्र आफूले सोचेको जस्तै बनेको पनि बताए ।
अभिनेत्री वर्षाले आफ्नो काम दर्शकले रुचाएको बताइन् । ‘विशेषगरि महिलाहरुले मैले निभाएको क्यारेक्टरमा ‘रिलेट’ गर्न सक्यौं भन्नुभएको छ । योभन्दा ठूलो खुसी मेरो लागि अरु हुनै सक्दैन’, उनले भनिन् । निर्देशक चाम्सले चलचित्रको ‘माउथ पब्लिसिटी’ राम्रो रहेको र व्यापार पनि देशैभर आक्रामक रहेको बताए । उनी दर्शकले ‘बीर विक्रम २’ हेरिरहँदा ‘बीर विक्रम’ नसम्झनु नै आफ्नो टिमको सफलता बताउँछन् ।
भिडियो :-