नेत्र छन्त्यालको निर्देशनमा चलचित्र ‘भूइँफूल’ निर्माण हुने भएको छ । द्वन्द्वकालमा विस्थापित भएर मधेशमा बसोबास गर्न आइपुगेका विभिन्न समुदाय विशेषगरी दलित समुदायमा हुने उतारचढाव तथा राज्यले गरेको विभेदमाथिको कथामा आधारित भएर बन्ने यस चलचित्रको आइतबार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ ।
सदाबहार अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको मुहूर्त गरेकी हुन् । सरिता राई प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन यही बैशाख २५ गतेबाट सुरु हुँदैछ । काठमाडौं, धरान र झापामा छायांकन हुने चलचित्रलाई रामेश्वर हुमागाइँले खिच्नेछन् । विनय पौडेलले निर्देशक नेत्रलाई निर्देशनमा सघाउनेछन् । चलचित्रको कथा पनि निर्देशक स्वयंको हो ।
उर्मिला वान्तवा राईको लगानीमा निर्माण हुने चलचित्रमा गोविन्द प्रभात, नरेन खड्का, तुलसा थापा, दीपेन्द्र दनौल, चन्दा राईलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेता समेत रहेका गोविन्दले नै चलचित्रका गीतमा कोरियोग्राफी गर्नेछन् । चलचित्रका गीतमा रमेश खड्काले संगीत भर्ने जिम्मेवारी पाएका छन् ।
चलचित्रमा गणेश सुवेदीले लेखेका गीतहरु समावेश गरिएको छ । ‘भूइँफूल’ बाट अभिनय यात्रा सुरु गर्न लागेका गोविन्दले आफूलाई दर्शकले अभिनेताको रुपमा स्वीकार गर्नेमा विश्वस्त देखिए । नव-अभिनेत्री तुलसा चलचित्रलाई लिएर उत्साहित देखिइन् । निर्देशक नेत्र चलचित्रलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँछन् ।