मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । यो चलचित्रसँग एकसाथ अरु कुनै नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । चलचित्रले एकल प्रदर्शनको दुर्लभ संयोग पाएको छ । चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् ।
‘भिजिट भिषामा’ र ‘दाल भात तरकारी’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रले अमेरिका जानका लागि मरिहत्ते गर्ने एक परिवारको कथा भन्छ । यसमा हरिवंश र निरुताले श्रीमान्- श्रीमतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुताले फिल्ममा लिड रोल निभाएकी हुन् ।
‘दाल भात तरकारी’ मा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, मदनकृष्ण श्रेष्ठलगायतको अभिनय छ । चलचित्रका निर्देशक सुदन केसी हुन् । चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् ।
पटकथा तथा संवाद पनि उनकै हो । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, सुमित मैनाली, अनुराग कुँवर, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको चलचित्रका गीतमा कोरियोग्राफी छ ।