गत वर्ष अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शनमा आएको थियो । तर, चलचित्र तमिल चलचित्र ‘मुम्बई एक्सप्रेस’ को हुबहु कपी थियो । उनीजस्ती गिनेचुनेकी अभिनेत्रीले नै फोटोकपी फिल्म बनाएको भन्दै चौतर्फी आलोचना भयो ।
तर, उनले ‘मुम्बई एक्सप्रेस’ बाट प्रभावित भएर बनेको भएता पनि फोटोकपी नभएको रटान लगाउन छाडिनन् । चलचित्र हिट भएको भन्दै केक समेत काटिन् ।
तर, यथार्थ यहाँ लुक्न सक्थ्यो र । अन्ततः उनले एक कार्यक्रममा आफ्नो चलचित्र फ्लप क्लबमा इन्ट्री भएको स्वीकार गरिन् । तर, उनले फिल्म फोटोकपी रहेको स्वीकार गरेकी थिइनन् । सोमवार फिल्म ‘६ माया छपक्कै’ को घोषणा सभामा केकीले आफूले निर्माण गरेको पहिलो फिल्म फोटोकपी रहेको धक नमानि बताइन् ।
नेपालका फिल्मकर्मीले चोरेकोलाई चोरेको स्वीकार गर्न नसकिरहेको अवस्थामा उनको यो साहसलाई धेरैले प्रशंसा गरे ।दोस्रो फिल्म निर्माणको तयारीमा रहेकी केकी भन्छिन्, ‘पहिलो फिल्म कपी बन्न पुग्यो । दोस्रो फिल्ममा यो नदोहोरियोस् भन्नेमा सजग छु ।’
ढिलै भए पनि केकीले आफूले कपी फिल्म बनाएको स्वीकार गरेकी छन् । उनले अब यो गल्ती नदोहोर्याउने वाचा समेत गरेकी छन् । उनीजस्तै अरु फिल्मकर्मीले पनि फ्लपलाई फ्लप र चोरेकोलाई चोरेको भन्ने हिम्मत जुटाउन सके कति राम्रो हुने थियो ।