जेठ पहिलो साताबाट फ्लोरमा जान लागेको ‘छक्का पञ्जा’ टिमको नयाँ चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । काठमाडौंको पाँच तारे होटल सोल्टीमा एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको नाटक शैलीमा घोषणा गर्यो ।
दीपेन्द्र लामाको निर्देशनमा बन्ने चलचित्रको घोषणा सभामा अभिनेत्री केकी अधिकारी, कलाकार त्रय दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए । प्रहसनमार्फत् चलचित्रको मुल कथा प्रट्याइएको थियो । चलचित्रले शहरमा हुर्किएकी एक युवती र एक सोझो/अर्धबैशे पुरुष बीचको प्रेमकथा वाचन गर्नेछ ।
दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेको चलचित्रमा केकी र दीपकराजको जोडी बाँधिएको छ । केदार र जितुको पनि प्रमुख भूमिका रहनेछ । बाँकी कलाकार केही दिनमा छनोट हुने निर्देशक लामाले जानकारी दिए । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा रोहित अधिकारीको एकल लगानी रहनेछ ।
निर्माता अधिकारीको लगानी सुरक्षित भएपछि दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत लैजाने सर्त छ । जेठ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रलाई हरि हुमागाइँले खिच्नेछन् । रोशन श्रेष्ठको द्वन्द्व रहने चलचित्रमा दीपक शर्माको संगीत छ । चलचित्रका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । सम्पादनको जिम्मेवारी विपिन मल्लको काँधमा आएको छ ।
निर्देशक लामाको कथा रहेको चलचित्रको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार चलचित्रका कार्यकारी निर्माता हुन् । दशैंमा प्रदर्शनमा आउने यो चलचित्र ‘छक्का पञ्जा ४’ नभएको दीपकले स्पष्ट पारेका छन् । पुरानै टिम दोहोरिएको भएता पनि चलचित्रको कथा फरक रहेको उनको भनाई छ ।
निर्देशक लामाले पनि यो चलचित्र ‘छक्का पञ्जा’ फ्रेन्चाइजको निरन्तरता नभएको प्रस्ट्याए । उनी भन्छन्, ‘यो बिल्कुलै फरक कथामा बन्न लागेको चलचित्र हो । मेरो कन्सेप्टलाई दीपकराज गिरीको टिमले पटकथामा ढाल्नुभएको हो । उहाँहरुले तयार गर्नुभएको स्क्रिप्ट मसँगै पूरा टिमलाई मनपर्यो । आमा सरस्वतीले बनाएको चलचित्र भनेपछि दर्शकमा जुन प्रकारको अपेक्षा हुन्छ त्यो यसले पनि पूरा गर्छ ।’
अभिनेत्री केकी अधिकारीले चलचित्र क्षेत्रलाई हाकेको टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । भूमिका चित्त बुझेका कारण काम गर्न राजी भएको उनको भनाई छ । दीपकराजले चलचित्रको पटकथा लेख्ने क्रममा नै ‘यो क्यारेक्टरमा केकी सुहाउँछ’ भन्ने आफूले सोचेको बताए । केकीको यसअघि निर्देशक लामासँग चलचित्र ‘घामपानी’ गरेकी थिइन् ।