‘दाल भात तरकारी’ मा कमेडीदेखि सन्देश सबै छ : पुष्प खड्का (भिडियो)



म्यूजिक भिडियोबाट चलचित्रमा प्रवेश गरेका अभिनेता पुष्प खड्काको भाग्य बदलेकोे चलचित्र हो ‘मंगलम’ । यसमा उनले प्यारालाइसिस भएको एक युवकको भूमिका निभाएका थिए । उनको अपोजिटमा थिइन् अभिनेत्री शिल्पा पोखरेल । यो चलचित्रमा उनको अभिनयको चौतर्फी प्रशंसा भएको थियो । चलचित्र पनि बक्सअफिसमा राम्रै चल्यो ।

करिअरको टर्निङ प्वाइन्ट बनेर आएको ‘मंगलम’ पछि उनले करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । हातमा एकपछि अर्को बिग प्रोजेक्टहरु परिरहेका छन् । उनको डिमाण्ड नेपाली चलचित्रमा जति चुलिँदो छ पारिश्रमिक पनि आकाशिदै गएको छ । केही हप्ता अगाडि उनले एक नयाँ प्रोजेक्टका लागि ३० लाख माग गरेको खबर बाहिरिएको थियो । उनी स्वयंले यो कुरा स्वीकार गरेका थिए ।

यस वर्ष अभिनेता पुष्पका लागि विशेष हुनेवाला छ । किनकि, उनीसँगै चलचित्र क्षेत्रले नै आश गरेका दुई चलचित्र प्रदर्शनमा आउँदैछ । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको प्रतिष्ठित ब्यानर मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’ मा उनको प्रमुख भूमिका छ ।

उनको अपोजिटमा अभिनेत्री आँचल शर्मा छिन् । यसको चार महिनापछि उनले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेको चलचित्र ‘मारुनी’ रिलिज हुँदैछ ।

केही दिनयता उनी प्रदर्शनको मुखमा रहेको चलचित्र ‘दाल भात तरकारी’ को प्रचार-प्रसार चुस्त बनाउन व्यस्त छन् । हालै उनी चलचित्रको मोफसल टुरमा समेत सहभागी भएका थिए । पहिलो पटक चलचित्रको सांगीतिक कन्सर्टमा सहभागी भएका उनले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताएका छन् । दर्शकको अथाह मायाले थप जिम्मेवारी महशुस भएको उनको भनाई छ ।


चलचित्रलाई लिएर निकै उत्साहित उनी भन्छन्, ‘‘दाल भात तरकारी’ कमेडी जनरामा बनेको चलचित्र हो । फेमिली ड्रामा हो । चलचित्रमा कमेडीदेखि सन्देश सबै छ । हेरुन्जेल रमाइलोको कमी हुँदैन ।’’ चलचित्रमा उनले ‘राउ’ को भूमिका निभाएका छन् । उनको पिताको भूमिका बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले निभाएका छन् भने माताको भूमिकामा अभिनेत्री निरुता सिंह छिन् । यसका निर्देशक सुदन केसी हुन् ।

पुष्प खड्का र आँचल शर्माको रमाइलो अन्तर्वार्ता हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu