दुई वर्ष अगाडि प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ शुक्रवारबाट पुनः हलमा प्रदर्शन भएको छ । तर, यसले मल्टीप्लेक्समा एक सोज पनि पाएको छ । सिंगल थिएटर भने दुई दर्जन बढी पाएको छ । हलिउडको ठूलो चलचित्र ‘एभेन्जर्स – इन्ड गेम’ का कारण यसले मल्टीप्लेक्समा सोज नपाएको हो ।
हलिउड चलचित्रले रि-रिलिज असफल बनाएपछि दीपकराज गिरीले फेसबुकमा लामो स्टाटस कोर्दै ‘छक्का पञ्जा २’ को पुनः प्रदर्शनको प्रयास सफल नभएको स्वीकार गरेका छन् । पुनः प्रदर्शन पनि एउटा सम्भावना हुनसक्छ भन्ने आफूहरुको सोच असफल भएता पनि कुनै ग्लानी नभएको उनको भनाई छ । उनी लेख्छन्, ‘सफलताको आकाशमा त्यही उड्छ, जसले प्रयोगका पखेटाहरू आफूमा जोडेको हुन्छ ।’
‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा ल्याउने घोषणा गर्दा दीपकराजको टिमलाई दर्शकले लोभीको संज्ञा दिएका थिए । पुरानो चलचित्र देखाएर फेरि पैसा कमाउन लागेको चौतर्फी आरोपपछि दीपकराजले कमाईको केही प्रतिशत समाजसेवामा खर्च गर्ने घोषणा गरेका थिए । उनले स्टाटसमार्फत् रिपिट रिलिज असफल भए पनि व्यक्तिगत रुपमा एक लाख रासकोट अस्पताललाई प्रदान गर्ने घोषणा गरेका छन् ।
अस्पताल निर्माणका लागि चलचित्र हलबाट उत्रँदासम्म उठेको रकमको केही प्रतिशत पनि प्रदान गर्ने उनले जनाएका छन् । दीपकले आफ्नो समुहले सधैं प्रयोग गर्ने बताउँदै अगाडि लेखेका छन्, ‘हास्य चलचित्र र हास्य कलाकार चलचित्रमा चल्दैन भन्ने सोच थियो तर हामीले नडराई प्रयोग गर्यौं र दर्शकले माया पनि नसोचेको दिनुभयो । हामीले हरेक दिन नयाँ-नयाँ बजार र नयाँ-नयाँ सम्भावना खोजिरहेका छौं ।’