नयाँ वर्ष २०७६ को छेकोमा आएको झरना थापा निर्देशित दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ ले अहिले बक्सअफिसमा मनग्य पैसा छापिरहेको छ । चलचिले प्रदर्शनको चार दिनमा ४ करोड कमाएको रिपोर्ट प्राप्त भएको थियो । गत शुक्रवारबाट चलचि दोस्रो हप्तामा प्रदर्शनरत छ । प्रदर्शनको पहिलो हप्ता फिल्मको कलेक्सन आक्रामक रहेको वितरक मनोज राठी बताउँछन् ।
चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रवार, दोस्रो दिन शनिवार र तेस्रो दिन अर्थात् नयाँ वर्षको दिन आइतवार कमाईमा ठूलो छलाङ्ग मारेको थियो । सोमवारदेखि बिहीवारसम्म पनि चलचित्रले आक्रामक व्यापारलाई निरन्तरता दिएको वितरक राठीको भनाई छ । चलचित्रले पहिलो हप्ता साढे ५ करोडको आसपास व्यापार गरेको अनुमान गरिएको छ ।
ब्रान्ड नाम, स्टारपावर, गीतसंगीत र ट्रेलरका कारण इनिसियल बक्सअफिस आक्रामक रहेको अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर ‘ए मेरो हजुर ३’ लाई दोस्रो हप्ता भने शुक्रवारबाट प्रदर्शनमा आएको बलिउडको बिग बजेटको मल्टिस्टारर चलचित्र ‘कलंक’ ले असर गर्ने कतिपयको अनुमान थियो । तर, दोस्रो हप्ता पनि चलचित्रले बक्सअफिसमा आफ्नो दबदबा कायमै राखेको छ । ‘कलंक’ ले यसलाई खासै असर गरेको छैन ।
चलचित्रले शुक्रवार र शनिवार मल्टीप्लेक्स र सिंगल स्क्रिन दुबैतिर देशभर हाउसफुल व्यापार गरेको बताइएको छ । पहिलो हप्ताको कलेक्सनबाटै लगानी सुरक्षित भएपछि खुसी देखिएका निर्माता सुनिल कुमार थापा दोस्रो हप्ता पनि हलमा दर्शकको चाप कम नभएको बताउँछन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण चलचित्र बक्सअफिसमा लामा रेसको घोडा बन्ने उनको विश्वास छ । दोस्रो हप्ताबाट यो चलचित्र नाफाको बाटोमा अगाडि बढेको छ ।
शनिवार निर्देशक झरना दोस्रो पटक दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न अभिनेता अनमोल र छोरी सुहानालाई लिएर गोपीकृष्ण हल पुगेकी थिइन् । दिउँसो साढे १ बजे गोपीकृष्ण पुग्दा चलचित्र हेर्नका लागि टिकट काट्ने र अनमोल-सुहानालाई हेर्ने दर्शकको ठूलो भीड देखिएको थियो । हरेक पटकझैँ अनमोललाई देखेपछि रुने र चिच्याउने युवतीहरु कम थिएनन् । सुहानाको क्रेज पनि गजब देखिएको थियो । दुबैले दर्शकलाई हात जोडेर धन्यवाद व्यक्त गरे ।
गोपीकृष्णको बालकुनीमा पुगेपछि अनमोलले आफ्नो तश्बिर छापिएको केही थान टिर्सट दर्शकलाई बाँडे । टिर्सटमा उनले आफ्नो हस्ताक्षर गरेका थिए । अनमोलले फ्याकेको टिर्सट आफ्नो बनाउन दर्शकबीच ठूलै घम्साघम्सी परेको थियो । उनले चलचित्रमा आफूले निभाएको ‘प्रेम र धनश्याममध्ये कुन क्यारेक्टर मनपर्यो ?’ भन्दै दर्शकलाई सोधेका थिए । दर्शकले धनश्याम मनपरेको जवाफ फर्काए । उनी चलचित्रप्रति दर्शकको उत्साहले दंग देखिन्थे ।
यो चलचित्रबाट अभिनेत्री सुहाना थापाले सानदार डेब्यू गरेकी छन् । उनलाई भविष्यको स्टार भनिन थालिएको छ । उनको अभिनयको अहिले समीक्षक र दर्शक सबैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । डेब्यू चलचित्रबाटै उनले लोभलाग्दो फ्यान फलोइंग बनाएकी छन् । चलचित्रमा उनले एक डाइहार्ट फ्यानको भूमिका निभाएकी छन् । ‘ए मेरो हजुर ३’ मा सलोन बस्नेत, अर्पण थापा, रेअर राई, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय छ ।