नयाँ वर्ष २०७६ को छेको पारेर शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता सलिनमान बनिया अभिनीत चलचित्र ‘यात्रा’ ले प्रदर्शनको तीन दिनमा राम्रो व्यापार गरेको छ । एकसाथ प्रदर्शनमा आएको अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ ले व्यापारमा ठूलो असर गरेता पनि चलचित्रले तीन दिनमा डेढ करोडमाथि व्यापार गरेको निर्माता तथा वितरक शुशील पोखरेलले जानकारी दिएका छन् ।
निर्माता पोखरेलले ‘वर्ड अफ माउथ’ बलियो भएका कारण चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्ने विश्वास व्यक्त गरे । उनी भन्छन्, ‘दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण चलचित्र लामो समयसम्म हलमा टिक्ने देखिन्छ । नेपालबाट आधउधी लगानी उठ्यो भने डिजिटल राइट्स र विदेश प्रदर्शनबाट करीब-करीब हामी सुरक्षित हुने अवस्था छ ।’ उनले सोमवार पनि चलचित्रले देशभर राम्रो व्यापार गरेको बताएका छन् ।
सम्राट शाक्य निर्देशित चलचित्रमा मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी छ । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।