प्रिमियरमा ‘ए मेरो हजुर ३’ को प्रशंसा नै प्रशंसा



शुक्रवारबाट देशभर प्रदर्शनमा आएको यस वर्षको अन्तिम चलचित्र ‘ए मेरो हजुर ३’ को प्रिमियर तारिफमय बनेको छ । बिहीवार साँझ राजधानीको कुमारी हलमा भएको ग्राण्ड प्रिमियरमा पुगेका दर्जनौं चलचित्रकर्मीले फिल्ममा कुनै खोट लगाएनन् । कतिले मेकिङको प्रशंसा गरे भने धेरैले डेब्यू गर्ल सुहाना थापालाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिए । उनको स्वभाविक अभिनयले चलचित्रकर्मी र पत्रकारको मन जितेको थियो ।

चलचित्र हेरेपछि प्रफुलित मुद्रामा निस्किएकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले संवाददाताहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफूले एकदम इन्जोय गरेको बताइन् । उनले चलचित्र हिट हुने दाबी पनि गरिन् । सुहानाको तारिफ गर्दै उनले भनिन्, ‘सधैं स्टार किड्सहरुलाई अभिनय गर्न आउँदैन भन्ने आरोपलाई सुहानाले गलत साबित गरेकी छन् । नेपाली चलचित्र क्षेत्रले एकदमै ट्यालेन्टेड अभिनेत्री पाएको छ ।’

अभिनेता, लेखक तथा निर्माता दीपकराज गिरीले भने चलचित्रको खासै प्रशंसा गर्न चाहेनन् । उनले लभस्टोरी चलचित्र मनपराउने दर्शकका लागि राम्रो हुनसक्ने बताए । उनी भन्छन्, ‘प्रयास राम्रो गरिएको छ । मेकिङ पक्ष राम्रो छ । सुहाना र अनमोलको काम राम्रो छ । झरनाजीको मिहिनेत देखिएको छ ।’ निर्देशक दीपाश्री निरौला भने सुहानाको तारिफ गरेर थाकिनन् । उनले भनिन्, ‘चलचित्र असाध्धै राम्रो छ । पूरै चलचित्र सुहानाले बोकेकी छन् ।’


हास्यजोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे, अभिनेता रमेश उप्रेती, निर्माता माधव वाग्ले, निर्देशक रेनशा वान्तवा राई, अभिनेत्री सरिता लामिछाने, अभिनेत्री नीता ढुंगाना, अभिनेता सरोज खनाल, निर्देशक दिवाकर भट्टराईलगायतले चलचित्र राम्रो बनेको बताउँदै सुहानाको अभिनयकै तारिफ गरे । निर्माता वाग्लेले त खुल्लम खुल्ला अभिनेत्री साम्राज्ञी आरएल शाहलाई उनी ‘थ्रेट’ हुनसक्ने विश्लेषण नै गर्न भ्याए ।

चलचित्रकर्मीको प्रतिक्रिया सुनेर निर्देशक झरना थापा, डेब्यू गर्ल सुहाना थापा, अभिनेताद्वय अनमोल केसी र सलोन बस्नेत दंग देखिएका थिए । आफूले अहिले नै राम्रो काम गरेको छु भन्ने महशुस गरे भोलीका दिनमा राम्रो काम दिन नसक्ने सुहाना बताउँछिन् । आफ्नो कामको चलचित्रकर्मीले गरेको तारिफलाई लिएर उनी भन्छिन्, ‘मैले त आफ्नो कर्म गरेको हुँ । राम्रो भनिदिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । भोलीका दिनमा झन् राम्रो गर्न हौसला मिलेको छ ।’

चलचित्रकर्मीले फिल्मको प्रशंसा गरेकोमा खुसी देखिएका अभिनेता अनमोलले आफूले हरेक चलचित्रमा अभिनयमा मिहिनेत गरिरहेको बताए । चलचित्रमा प्रेम र धनश्याम महर्जन गरि दुई भूमिकामा रहेका उनले आफ्नो फेभरेट क्यारेक्टरबारे बताउँदै भने- ‘मेरो फेभरेट त धनश्याम नै हो । मलाई जहाँसम्म लाग्छ दर्शकलाई धनश्यामले नै हसाउँछ र अन्त्यमा गएर रुवाउँछ पनि । धनश्याम मेरो लागि नयाँ किसिमको क्यारेक्टर हो ।’


सलोनले भने आफूले सोचेकोभन्दा चलचित्र राम्रो बनेको बताए । सुहानाले आफूले सोचेभन्दा धेरै राम्रो काम पाएको उनको भनाईको छ । निर्देशक झरनाले चलचित्रकर्मीबाट पाएको प्रतिक्रियाले उत्साह थपेको बताइन् । उनले भनिन्, ‘चलचित्र हेर्नुभएको सबै चलचित्रकर्मीले सुहाना र पूरा टिमको कामको प्रशंसा गर्नुभएको छ । हामी खुसी छौं ।’ निर्माता सुनिल कुमार थापा पनि चलचित्रकर्मीबाट पाएको प्रतिक्रियाले खुसी देखिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu