चैत २९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’ टिमले ‘धुर्मुस सुन्तली फाउण्डेसन’ द्वारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ का लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । चलचित्रका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता शुशील पोखरेलले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई ५० हजारको चेक प्रदान गरे ।
सहयोग बुझेपछि सितारामले चलचित्रको सफलताको शुभकामना दिए । ‘थोपा-थोपा मिलेर समुन्द्र बनाउने कोशिशमा छौं, त्यसैले यो सहयोग हाम्रो लागि अमुल्य छ’, धुर्मुस भन्छन् । उनले चलचित्र ‘यात्रा’ मा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘धुर्मुस सुन्तली’ को अभियानमा साथ दिन पाउँदा निकै खुसी लागेको प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए ।
यस्तै, अर्का निर्माता शुशीलले अभियानकै सहयोगार्थ हुन लागेको मातृभूमि कपमा आफ्नो टिम क्रिकेट खेल्न जाने समेत बताए । केही दिनदेखि चलचित्रका अभिनेता सलिनमान बनिया क्रिकेट प्रशिक्षणमा सभागी भइरहेका छन् । चलचित्रमा उनी भ्लगरको भूमिकामा छन् । फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्यलगायतको अभिनय छ ।
यही चलचित्रबाट मलिका महतले डेब्यू गरेकी छन् । चलचित्रमा निर्देशक सम्राटकै कथा छ । यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । यसलाई संजय लामाले खिचेका हुन् । चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।