‘लिलिबिली’ मा सर्वाधिक रुचाइएको अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको जोडी यही चैत २२ मा रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ बाट पुनः दर्शकलार्ई भेट्दैछन् । भेट्रान निर्देशक उज्जवल घिमिरेले यसको निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप गायक सागरको भूमिकामा छन् । भने, जसिताले रानीको भूमिका निभाएकी छन् । दुबै चलचित्रलाई लिएर निकै उत्साहित छन् । जसिता भने उत्साहितभन्दा तीन गुणा बढी नर्भस रहेको बताउँछिन् ।
उनी भन्छन्, ‘‘लिलिबिली’ पहिलो चलचित्र भएकाले मेरा कमी-कमजोरी भएको भए पनि माफी मिल्यो । तर, यसपटक दर्शकहरुले पनि मबाट एकप्रकारको अपेक्षा राख्नुभएको छ । त्यो अपेक्षा पूरा गर्न सक्छु कि सक्दिन भन्नेमा एकदमै नर्भस छु ।’’ प्रदीप भने आफूले यसअघि गरेका चलचित्रभन्दा ‘लभ स्टेशन’ विल्कुलै फरक रहेको बताउँछन् । ‘मेरा यसअघिका चलचित्रभन्दा यो चलचित्र एकदमै फिल्मी छ’, उनले भने ।
‘पहिलाका मेरा चलचित्र केटा-केटीमा केन्द्रित थिए । कुनै फिल्म रियालिटीसँग नजिक भएर बनेका थिए’, प्रदीपले अगाडि भने- ‘‘लभ स्टेशन’ मा चाहिँ भिलेन साँचिक्कै भिलेन जस्तो छ । हिरो साँचिक्कै हिरो स्टाइलले इन्ट्री गर्छ । चलचित्र एकदमै फिल्मी छ तर लजिकली र टेक्निकली बलियो छ ।’’ उनले चलचित्रका लागि लामो समय तबला सिकेको पनि बताए । उनी आफूले जीवनमा गर्न नसक्ने चीजमध्येको एक गायनलाई मान्छन् ।
चलचित्रमा आफ्नो भूमिका स्पष्ट पार्दै प्रदीप भन्छन्, ‘चलचित्रमा मैले निभाएको चरित्र सागरलाई ठूलो गायक बन्ने चाहना छैन । मात्र लभ स्टेशन भन्ने एउटा रेस्टुरेन्ट छ र त्यहाँ आउने ग्राहकलाई मनोरञ्जन गराउनका लागि म गायकको रुपमा प्रस्तुत छु ।’ चलचित्रको ट्रेलरमा उनी एक बच्चा खोजीमा पनि देखिएका छन् । ‘जुन बच्चाको फोटो लिएर म २२ वर्षदेखि खोज्दै हिँडिरहेको छु त्यो नै चलचित्रको ‘ब्याक बोन्ड’ हो’, उनले प्रस्ट्याए ।
चलचित्रमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक घिमिरेका अनुसार, यो सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । आलोक शुक्लाको छायांकन रहेको चलचित्रका निर्माता गोविन्द शाही हुन् । यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मालगायतको संगीत छ ।