चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यू चलचित्र ‘शुभ लभ’ प्रदर्शनको संघारमा छ । यही चैत १५ मा फिल्म रिलिज हुँदैछ । यसमा उनको अपोजिटमा क्रिस्टिन पौडेल छिन् । सन्तोष बाबु लोहनीले चलचित्रको निर्देशन गरेका हुन् भने प्रदीप कुमार उदयले निर्माण गरेका हुन् । यो चलचित्रको कथा हरिहर स्वयंको हो । चलचित्रको टाइटल गीतले लोकप्रियता हासिल गरिसकेको छ । ट्रेलरलाई पनि निकै रुचाइएको छ ।
चिना र हात हेरेर धेरैको भविष्य बताएका हरिहर अब आफ्नै भाग्य परिक्षा गर्ने कुर्सीमा बसेका छन् । यो चलचित्र उनका लागि कुनै हालतमा सफल हुनु पर्नेछ, नभए उनीप्रतिको विश्वासमा धेरैले प्रश्न उठाउन सक्नेछन् । तर, चलचित्रको सफलता र असफलताले आफ्नो करिअरमा असर नगर्ने उनको तर्क छ ।
उनी भन्छन्, ‘मैले ६ महिनादेखि अफिस बन्द गरेर चलचित्रका लागि भनेर हिँडेको छु । चिना र हात राम्रोसँग हेर्न पाएको छैन’, एक भेटमा पत्रकारसँग उनले भने- ‘हिट र फ्लप भन्दा पनि चलचित्र हेर्न आउनुभएको दर्शकले रुचाइदिनु भयो भने म त्यसलाई सफल मान्छु । राम्रो कमाउनु मात्र सफलता होइन ।’
पहिलो चलचित्रमा ज्योतिषकै भूमिका गर्नुलाई उनी आफू ‘सेफ साइड’ खोजेको स्वीकार गर्छन् । ‘यसले मेरो प्रोफेसनलाई असर गर्दैन । चलचित्रमा ज्योतिषलाई कुनै नराम्रो बनाइएको छैन । त्यो क्यारेक्टर हो, उसको प्रोफेसन ज्योतिष हो । उसले विशुद्ध अभिनय गर्छ । यो चलचित्र मलाई चिना हेराउन आउनेलाई मनपर्छ । अरुका लागि नयाँ लाग्छ भन्ने सोचेर नै गरेको हुँ’, उनले भने ।
चलचित्रलाई दर्शकले नरुचाए पनि आफू स्वीकार गर्न तयार रहेको बताउँछन्, उनी । राम्रो स्क्रिप्टबाट अफर आए आगामी दिनमा पनि फिल्म गर्ने उनको सोच छ । उनी भन्छन्, ‘म कहिले पनि प्रि-प्लान गर्दिनँ । कहिल्यै म पनि प्लान गरेर हिँड्दिनँ र काम गर्दिनँ । जे गर्ने हो स्पोटमै गर्ने हो । भोली कसैसँग भेट भएर राम्रो चिज हुन्छ भन्ने लाग्यो भने अवश्य गर्छु ।’
‘शुभ लभ’ को लभस्टोरी भयानक रहेको उनको भनाई छ । तपाईंको आफ्नै लभस्टोरीमा आधारित त होइन चलचित्र ? पत्रकारको जिज्ञासामा उनले आफ्नो रियल लभस्टोरीमा चलचित्र नबनेको बताए । चलचित्रको गीत र ट्रेलर रिलिज भएपछि उनको हाइटलाई लिएर थुप्रै कमेन्ट आएका छन् । हाइटलाई लिएर भएको टिप्पणीमा उनी भन्छन्, ‘मलाई चलचित्र गर्नुभन्दा अगाडि नै यो कुरा आउँछ भन्ने थाहा थियो । त्यसैले कुनै चित्तदुखाई छैन ।’