अभिनेत्री श्वेता खड्काले बाहिरी ब्यानरको एक चलचित्र बिहीवार साँझ सम्झौता गरेकी छन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘भैरे’ निर्देशन गरेका एभरेष्ट सूर्य बोहोराको नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ मा उनी अनुबन्ध भएकी हुन् । यसअघि ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीको नाम चर्चामा थियो ।
निर्देशक बोहोराको निर्देशन र लेखनमा बन्ने चलचित्रलाई सृजना जोशीले निर्माण गर्नेछिन् । विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा अनुबन्ध भएपछि अभिनेत्री श्वेताले खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा एक स्टाटस कोर्दै आफ्नो लागि खुसीको पल र एकदमै स्पेशल दिन भएको उल्लेख गरेकी छन् ।
उनले निर्देशक बोहोरालाई ‘डाइनमिक’ निर्देशक भन्दै प्रशंसाको पुल पनि बाँधेकी छन् । श्वेताले धेरैपछि बाहिरी ब्यानरको चलचित्रमा काम गर्न लागेकी हुन् । उनले चरित्र मन परेका कारण ‘हेल्लो जिन्दगी’ गर्न राजी भएको बताएकी छन् । यो चलचित्रलाई अहिलेका सर्वाधिक व्यस्त र महँगा छायाँकार पुरुषोत्तम प्रधानले खिच्नेछन् ।