शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘द ब्रेकअप’ आफूले निर्देशन गरेका यसअघिका चलचित्रभन्दा फरक रहेको निर्देशक हेमराज विसीले बताएका छन् । अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिपलक सिनका कारण पनि चर्चामा रहेको चलचित्रमा चुम्बन दृश्य कलात्मक रुपमा पस्किने प्रयास गरेको निर्देशक विसीको भनाइ छ । कथाले मागेर नै अभिनेता/अभिनेत्रीको लिपलक सिन चलचित्रमा समावेश गरिएको उनले बताए ।
हेमराजले अभिनयमा अनमोल अनमोल केसी र आशिरमानमध्ये को बेस्ट ? भन्ने पत्रकारको प्रश्नको उत्तर पनि दिए । केहीबेर घोत्लिएपछि उनले भने- ‘यो साह्रै कठिन सवाल हो । किन्तु, कामको हिसाबले आशिरमान प्रफेक्ट । व्यवहार दुबैको राम्रो छ, प्रफमेन्सको हिसाबले स्कृप्ट अनुसार काम दुबैले राम्रो दिनसक्छन् । ‘ग्याङ्गस्टर ब्लूज’ देखि ‘ब्रेकअप’ सम्म आउँदा भने आशिरले गरेको कामबाट चाहिँ म प्रभावित छु ।’
अनमोलको प्रशंग उठ्दै गर्दा निर्देशक विसीको छेवैमा रहेका अभिनेता आशिरमानलाई पनि पत्रकारले प्रश्न गरे- ‘अनमोलको चलचित्रसँग आफ्नो फिल्म जुध्दैछ भन्ने डरले कति सताएको छ ?’ उनले डर रत्ति नभएको बताए । उनी हरेक कलाकारलाई काममा विश्वास हुनुपर्ने तर्क राख्छन् । ‘यदी अनमोलको फिल्मसँग मेरो चलचित्र एकसाथ रिलिज हुँदैछ भनेर सोच्दै बस्ने हो भने रातभरी निन्द्रा लाग्दैन थियो होला’, उनी सुनिए ।
उनले ‘द ब्रेकअप’ आफ्नो दोस्रो चलचित्र भएका कारण आफू स्थापित हुन खोजिरहेको बताए । ‘ग्याङ्गस्टर ब्लूज’ भन्दा फरक भूमिका निभाएको बताउँदै उनले थपे- ‘दर्शकको इच्छा अनुसार नै मैले ‘द ब्रेकअप’ मा लभर ब्वाईको भूमिका गरेको हुँ । मलाई पनि मज्जा आयो लभर ब्वाईको भूमिका निभाउन पाएर । दर्शकलाई पनि रमाइलो लाग्छ भन्नेमा आशावादी छु ।’ अभिनयमा डेब्यू चलचित्रभन्दा सुधार गर्ने प्रयास गरेको पनि उनले बोले ।
‘द ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । निर्देशक बिसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । चलचित्रमा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।