यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्याप्टेन’ मा सुपरस्टार अनमोल केसी एक राष्ट्रियस्तरको फुटबल खेलाडीको भूमिकामा छन् । उनको चरित्रको नाम ‘इशान’ हो । डेब्यू चलचित्र ‘होस्टेल’ देखि उनी प्रायः लभर ब्वाईकै भूमिकामा बढी देखिए । उनी भन्थे पनि- ‘मैले केही वर्षपछि लभर ब्वाईको भूमिका गर्छु भनेर पाउँदिनँ । त्यसैले अहिले दर्शकले जुन भूमिकामा मलाई रुचाएका छन् त्यही गर्छु ।’
अब भने उनी लभर ब्वाईकै छविमा रुमलिरहन चाहन्नन् । उनी केही वर्षयता एकै किसिमको भूमिका गर्दागर्दा आजित भइसकेका छन् । हालै पत्रकारसँगको एक भेटमा उनी सुनिए, ‘पहिलाको ट्रेन्ड र अहिलेको ट्रेन्डमा धेरै परिवर्तन भइसकेको छ । पहिला कमर्शियल फिल्म विक्थ्यो भने अहिले दर्शकहरु पनि स्मार्ट भइसकेका छन् । अहिले कन्टेन्ट भएको चलचित्र मात्र विक्छ ।’ उनका अनुसार, ‘क्याप्टेन’ कन्टेन्टका कारण शक्तिशाली छ ।
गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कृ’ पछि आफूले चरित्रलाई बुझ्न थालेको उनको भनाइ छ । उनले भने- ‘कृ’ पछि मैले क्यारेक्टरमा ‘वर्क’ गर्न थालेको हुँ । त्योभन्दा अगाडि म जे हो त्यसरी नै प्रस्तुत हुँदै आएको थिएँ ।’ उनी ‘क्याप्टेन’ बाट आफ्नो चलचित्रमा कन्टेन्ट हुँदैन भन्ने आरोपबाट मुक्त हुनेमा पनि विश्वस्त छन् । चलचित्रमा नेशनल हिरोको रोल निभाउन पाएकोमा उनले गौरवान्भित महशुस गरेका छन् ।
अनमोल अभिनयले भन्दा चकलेटी लुक्स र स्टारडमको प्रशंसामा रमाइरहेको टिकाटिप्पणी हुन थालेको वर्षौ भइसक्यो । अभिनयको हिसाबले पाँच चलचित्र गरिसके पनि उनले अभिनयमा दर्शकले खोजेजस्तो निखारता ल्याउन नसकेको कतिपयको आरोप छ । उनी भने आफूले अभिनयमा मेहनत गरिरहेको बताउँछन् । ‘म अझै सिकिरहेको छु । अभिनयमा मेहनत गरिरहेको छु र मेहनत गर्न कहिल्यै छाड्ने छैन’, उनी सुनिए ।
पछिल्लो समय नेपाली चलचित्रको सिनारियो हेर्ने हो भने कन्टेन्टमा होमवर्क नपुगेका स्टारका चलचित्रले पनि हावा खाइरहेका छन् । एक उदाहरण अभिनेता प्रदीप खड्काको ‘रोज’ हो । आफ्नै प्रतिस्पर्धी अभिनेताको पछिल्लो चलचित्र बक्सअफिसमा असफल भएपछि अनमोलको मनको भित्री तहमा पनि डरले डेरा जमाउन थालेको छ । यद्यपि, उनलाई ‘क्याप्टेन’ को कन्टेन्टमाथि पूरा भरोसा छ ।
स्टारडमले चलचित्र चल्छ ? भन्ने पत्रकारको प्रश्नमा केहीबेर घोत्लिएपछि उनी अगाडि भन्छन्, ‘स्टार पावरले बज क्रियट गर्न र ओपनिङ मात्र दिने हो । चलचित्र चल्ने भनेको त कन्टेन्टले नै हो । हलिउड/बलिउडकै उदाहरण लिने हो भने पनि ठूला-ठूला स्टारको चलचित्र कन्टेन्ट कमजोर हुँदा चलेका छैनन् । मलाई लाग्छ चलचित्र चल्नलाई स्टारडमको होइन कन्टेन्टको ठूलो हात हुन्छ ।’
स्कूले जीवनमा कहिल्यै फुटबलको पछाडि नदौडिएका अनमोल चलचित्र ‘क्याप्टेन’ मा फुटबल खेलाडीको भूमिका निभाउन निकै गाह्रो भएको अनुभव सुनाउँछन् । उनले फुटबल खेलाडी हरि खड्काबाट तीन महिना एन्फा ग्राउण्डमा तालिम समेत लिएका थिए । उनी आफूले एक फुटबल खेलाडीको भूमिका न्यायपूर्वक निभाउनका लागि कडा मेहनत गरेको बताउँछन् ।
दीवाकर भट्टराई निर्देशित चलचित्र ‘क्याप्टेन’ मा उनको कोचको भूमिकामा अभिनेता प्रशान्त ताम्राकार छन् । उनले दुई डेब्यू गर्ल उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्स गरेका छन् भने सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको एक गीतमा भुवन केसी र निरुता सिंहले ठुम्का लगाएका छन् ।