आख्यानकार सुबिन भट्टराईद्वारा खिलित चर्चित पुस्तक ‘समर लभ’ माथि निर्माण भएको चलचित्र ‘समर लभ’ यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । नेपालमा पुस्तकमाथि बनेका चलचित्रको इतिहास राम्रो नभएका कारण सुबिनलाई पनि पुस्तकको इज्जत चलचित्रले जगाउला कि नजोगाउला भन्नेमा ठूलो चिन्ता छ ।
चलचित्र हेरेपछि भने उनमा ‘कन्फिडेन्ट लेभल’ बढेको छ । सोमवार राजधानीमा पत्रकारसँँग गफिँदै उनले चलचित्रले पुस्तकलाई न्याय गरेको बताए । पुस्तकको मर्म चलचित्रले मर्न नदिएकोमा पनि उनले खुसी व्यक्त गरे । चलचित्र हेरिरहँदा आफूले लेखेका केही चिजहरुले दुरुस्तै पाएको उनको भनाइ छ । भन्छन्, ‘इमोसनल पाटोमा त मेरो आँखा नै रसाएकोे थियो ।’
उनले अगाडि थप्दै भने, ‘पुस्तकमा जसरी कथा बगेको छ चलचित्रल्ममा पनि त्यसरी नै बगेको छ । पुस्तक ठ्याक्कै चलचित्रमा उतारिएको छ । पुस्तक पढ्ने/नपढ्ने दुबै दर्शकलाई चलचित्रले निराश बनाउँदैन ।’ उनी चलचित्रको ट्रेलर हेरेपछि आफ्ना प्रशंसकहरु कसैबाट पनि प्रतिक्रिया राम्रो नआएको सुनाउँछन् ।
अतितको भूमिकामा कलाकार आशिष पिया सुहाउँदो नभएको प्रतिक्रिया आफूले धेरै पाएको उनले आशिषकै अगाडि निर्धक्क बताए । उनी स्वयं पनि पात्र चयनमा सन्तुष्ट रहेनछन् । निर्देशक र कलाकारकै अगाडि उनले भने, ‘म लेखक भएका कारण पुस्तकको जस्तै चरित्र भेटेको भए राम्रो हुन्थ्यो भन्ने लाग्नु स्वभाविकै हो । तर, चलचित्र हेरेपछि भने म पोजेटिभ छु ।’
पुस्तक पढेकाले भन्दा नपढेकाले चलचित्रबाट बढी मनोरञ्जन लिने सुबिनको निष्कर्ष छ । ‘पुस्तक पढेकाहरु ‘जजमेन्टल’ हिसाबमा जान्छन् । कमी कमजोरीहरु बढी खोज्छन् । तर, पुस्तक पढेका वा नपढेका जो कोहीले पनि चलचित्र रुचाउनुहुन्छ भन्नेमा चाहिँ म विश्वस्त छु’, उनले भने । उनी आफूलाई पुस्तकसँगै चलचित्र लेख्ने चाहना पनि अत्याधिक रहेको बताउँछन् ।
‘चलचित्रतिर मेरो ‘इन्ट्रेस्ट’ एकदमै छ । मलाई पुस्तक लेख्नुभन्दा अगाडि चलचित्रका लागि कथा लेख्ने चाहना थियो । केही लेखेँ पनि तर त्यसै थन्किए’, उनले अगाडि भने, ‘भोलीका दिनमा अफर आयो भने चलचित्रका लागि पनि कथा लेख्छु ।’ उनले भविष्यमा आफैंले चलचित्र निर्देशन गर्ने सोचमा रहेको पनि बताए ।
‘चलचित्र निर्देशन गर्ने सोचमा समेत छु तर त्यो कहिले पूरा हुन्छ थाहा छैन । तर, हतार भने गर्दिनँ’, उनले भने । विस्तारै चलचित्र क्षेत्रका व्यक्तिसँग संगत बढिरहेको बताउँदै उनले आफूले चलचित्रका लागि थुप्रै कथाको खेस्रा तयार पारेको पनि बताए । सुबिनमा अब चलचित्रको स्क्रिनप्ले र पुस्तक लेखनलाई एकसाथ लैजाने सोच छ ।