गत वर्ष पञ्चायत निर्देशन गरेका लेखक तथा निर्देशक शिवम अधिकारीले निर्देशन गर्ने नयाँ चलचित्र ‘कोपिला’ बनाउने भएका छन् । एक १३ वर्षीया बलात्कृत बालिकाको कथामा चलचित्र बन्न लागेको हो । आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको छ ।
कार्यक्रममा कलाकारहरु सरिता गिरी, गणेश गिरी र सञ्जिवनी खरेलले मुहूर्त सट दिएका थिए । सञ्जिवनीले बलात्कृत बालिकाको भूमिका निभाउँदै छिन् । ८० लाखमा निर्माण हुने चलचित्रलाई पत्रकार मणिराज गौतमले निर्माण गर्नेछन् ।
उनलाई लगानीमा करुणकर घिमिरेले सघाएका छन् । गणेश गिरी फिल्मको प्रस्तुतकर्तामा छन् । सुवासराज काफ्ले कार्यकारी निर्माता रहेको यस चलचित्रमा समिर मिया, रामेश्वर र मेनुका ढुंगाना सह-निर्माताको रुपमा रहेका छन् । निर्देशक अधिकारीले चलचित्र समाजभित्र घटिरहेका घटनामा आधारित रहेको बताए ।
उनी भन्छन्, ‘‘पञ्चायत’ जस्तैजस्तै हो ‘कोपिला’ पनि । मात्र परिस्थिति र परिवेश फरक हो । वर्षौदेखि बलात्कारको घटनाहरु घटिरहेका छन् । यही संवेदनशिल विषयमा केन्द्रित रहेर चलचित्र बनाउन लागेका हौं । चलचित्रमार्फत् यस्तो गर्यौं भने बलात्कारको घटना रोक्न सकिन्छ भन्ने हामीले एउटा दृष्टिकोण बनाएका छौं ।’
चलचित्रमा सरिता, गणेश र सञ्जिवनीसँगै ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको अभिनय रहनेछ । रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत चलचित्रमा रहनेछ । चितवन आसपासमा चलचित्रको छायांकन गरिनेछ ।