यस हप्ताको शुक्रबार तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । ‘सुश्री सम्पत्ति’ र ‘डोली’ र ‘कथा ७२’ फ्राइडे रिलिज अन्तर्गतका फ्रेस चलचित्र हुन् । तीनै चलचित्र फरक-फरक जनराका हुन् ।
कमेडीप्रधान चलचित्र ‘सुश्री सम्पत्ति’ लाई सुव्रत आचार्यले निर्देशन गरेका छन् । यसअघि उनले ‘अर्धकट्टी’ चलचित्र निर्देशन गरेका थिए । चलचित्रमा सुश्री र सम्पत्तिको पछाडि दौडिँदा दुई युवाको जीवनमा आउने उचारचढावको कथा पेश गरिएको छ । बुधबार राजधानीमा गरिएको स्पेशल शोमा सेलिब्रेटीहरुले चलचित्र रुचाएका थिए ।
‘हुकुम बक्सियोस्’ बोलको गीतका कारण चर्चामा रहेको यस चलचित्रमा सलोन बस्नेत, विनोद न्यौपाने, राजाराम पौडेल, प्रमोद अग्रहरी, विशादर बस्नेत, सारा सिर्पाली, सुनिता श्रेष्ठ ठकुरीको अभिनय छ । अभिनेत्री प्रियंका कार्कीले एक आइटम गीतमा ठुम्का लगाएकी छन् । चलचित्रमा अधिकांश पोखराका दृश्य कैद छन् ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू ‘निरवी’ र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्रलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।
यस्तै ‘कथा ७२’ को कथा छोरा र आमाबीच मनोवैज्ञानिक मनमुटावमा आधारित छ । प्रवीण स्याङ्बोको निर्देशनमा बनेको यो चलचित्र २०७२ को भुइँचालोले हल्लाइदिएको जिन्दगीमा निर्माण भएको छ । चलचित्रमा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामांङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय रहेको छ ।
दुई चलचित्रसँग एकसाथ भिडन्त आरम्भ गरेको ‘डोली’ मा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान, संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् । राजबहादुर सानेले चलचित्र निर्देशन गरेका हुन् ।