बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित नेपाली चलचित्र ‘पाहुना : द लिटिल भिजिटर्स’ को प्रदर्शन मिति घोषणा गरिएको छ । एक पोस्टर सार्वजनिक गर्दै निर्मात्री चोपडाले चलचित्र ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुने जानकारी दिइन् ।
प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्स द्वारा निर्मित यो चलचित्रको निर्देशन पाखी ए टायरवालाले गरेकी हुन् । चलचित्रको कहानी तीन नेपाली बच्चाको वरिपरि घुमेको छ, जो आफ्नो अभिभावकबाट विछडिएका छन् । चलचित्रले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका बच्चाको कथा वाचन गरेको छ ।
प्रियंकाले ट्विटरमार्फत चलचित्रको रिलिज डेट घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्, ‘अन्ततः प्रतिक्षा सकियो । ‘पाहुना : द लिटिल भिजिटर्स’ सात डिसेम्बर २०१८ मा देशको सबै थिएटरमा रिलिज हुँदैछ र म यो खुसीको खबर दिन प्रतिक्षा गर्न सक्दिनँ ।’ चलचित्र सिक्किम भाषामा बनेको छ ।
निर्देशक पाखी चलचित्र आशाको संकेत रहेको बताउँछिन् । भन्छिन्, ‘चलचित्रले संघर्षको क्रममा हौसला जगाउँछ । छाड्दिनु निकै सजिलो हुन्छ । आवश्यकताको समयमा हामीलाई आशाको निकै खाँचो हुन्छ । चलचित्रमा एक ठाउँमा एक चरित्र भन्छ ‘पूरै अध्यारो कहिल्यै हुँदैन । उज्यालो सधैं हुन्छ ।’