अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘भैरे’ आउँदो साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । एभरेष्ट सूर्य बोहरा निर्देशित यस चलचित्रमा उनी टाइटल क्यारेक्टरमा छन् ।
‘लुट’ ले ‘गोफ्ले’ नामबाट परिचित गराएझैँ ‘भैरे’ ले पनि आफूलाई नयाँ परिचय दिनेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘भैरे’ को कथा मन पर्यो अनि छाड्न सकिनँ । यो मेरो टाइपको चलचित्र बनेको छ ।’
‘भैरे’ सोसल ड्रामा हो । पहिलादेखि जसरी चलचित्रहरु बनिरहेका थिए त्यसैको एक अवधारण हो । यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन । नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ’, उनले भने ।
उनी ‘भैरे’ लाई पूर्ण कमर्शियल चलचित्र भन्न चाहन्छन् । दर्शकलाई सोच्न विवश नबनाएपनि यस चलचित्रले मनोरञ्जनको खुराक दिन नचुक्ने उनको दाबी छ ।
‘भैरे’ तपाईको करिअरको फरक चलचित्र हो ? उनी भन्छन्, ‘त्यो त भन्दिनँ तर मेकिङको हिसाबबाट भने फरक भन्न सक्छु । निर्देशक एभरेष्ट सूर्य बोहरा ‘मेन स्ट्रिम स्कूलिङ’ बाट आउनुभएको हो । उहाँले चलचित्रमा त्यही स्कूलिङ फलो गर्नुभएको छ ।’
यो चलचित्रमा दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । ‘सान्नानीलाई भेट्न आउँदा’ र ‘सनम माया ला’को’ गीतले चलचित्रको हाइप मेन्टेन गरिरहँदा ट्रेलरले पनि दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ ।
यो चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।
सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
ट्रेलर हेर्नुहोस् :-