अभिनेत्री सृष्टि श्रेष्ठलाई मिस नेपाल कम अनमोल केसीकी हिरोइन भनेर धेरैले चिन्दछन् । उनको डेब्यु चलचित्र नै अनमोलसँग थियो । ‘गाजलु’ बाट उनले मिस नेपालसँगै आफूलाई अभिनेत्रीको रुपमा चिनाइन् ।
डेब्यु चलचित्र रिलिजको झण्डै २ वर्षपछि उनी साउन ११ गते ‘रोमियो एण्ड मुना’ मार्फत् पुनः पर्दामा फर्किदैछिन् । यसमा उनको अपोजिटमा अभिनेता विनय श्रेष्ठ छन् ।
सृष्टिले आफूलाई अभिनेत्रीको रुपमा परिचित गराएपनि उनको नाम अगाडि ‘अनमोल’ छुट्दैनन् । यो उनका लागि कति फाइदाजनक छ ? के ‘रोमियो एण्ड मुना’ ले ‘अनमोलकी हिरोइन’ को ट्याग मेट्न आवश्यक छ ?
मंगलवार राजधानीमा आयोजिक पत्रकार भेटघाटको क्रममा उनले यस विषयमा आफ्नो धारणा व्यक्त गरेकी छिन् । उनी भन्छिन्, ‘मलाई यो समस्या हो जस्तो लाग्दैन । मलाई मिस नेपालको रुपमा निकै थोरैले चिन्दछन् होला तर ‘गाजलु’ हेर्नुभएका धेरैले अनमोलको हिरोइन भनेरै चिन्नुहुन्छ । ‘गाजलु’ हिट हुनुमा सबैभन्दा ठूलो श्रेय अनमोललाई नै जान्छ ।’
उनी अगाडि थप्छिन्, ‘म उसलाई सम्मान गर्छु । मलाई दर्शकले ‘अनमोलको हिरोइन’ भनेर चिन्नुहुन्छ भने केही छैन । म त्यसमा खुसी छु ।’ उनले अनमोलको स्टारडमको पनि खुलेरै प्रशंसा गरिन् । पछिल्लो समय यूथहरु चलचित्र हेर्न हल जानुको पछाडिको अनमोलको स्टारडम रहेको उनको तर्क छ ।
उनी ‘रोमियो एण्ड मुना’ का अभिनेता विनय श्रेष्ठ र अनमोल केसीको स्वभाव उस्तै रहेको बताउँछिन् । ‘दुवैसँग काम गर्दा मलाई सहज भयो । दुवैजना हम्बल हुनुहुन्छ । स्टारडमको घमण्ड दुवैमा छैन । रेस्पेक्टफूल हुनुहुन्छ । सेटमा मलाई सधै सपोट गर्नुभयो । दुवै असल हुनुहुन्छ’, उनले भनिन् ।