अभिनेत्री रेखा थापाले युवा स्टार प्रदीप खड्कालाई आफ्नो फेभरेट हिरो बताएकी छिन् । केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा भेटिएकी उनले डिमाण्ड भएको बेला वर्षमा एउटा मात्र चलचित्र गरेर नखुम्चन पनि प्रदीपलाई सल्लाह दिइन् ।
उनी भन्छिन्, ‘प्रदीप आफ्नै कारणले यहाँसम्म आइपुगेको हो । यसकारण पनि मलाई ऊ एकदम मनपर्छ । तर म उसलाई ४/५ वटा चलचित्र वर्षमा गर्न सुझाव दिन्छु । अहिले उसको डिमाण्ड राम्रो छ । यो दर्शकको डिमाण्ड हो । समय कहिले अडिँदैन । समयलाई चिन्न सक्नुपर्छ ।’
उनी वर्षमा एउटा मात्र चलचित्र गरेर दर्शकलाई निराश नबाउन आग्रह गर्छिन् । ‘मैले पनि एक टाइममा ५/७ वटासम्म चलचित्र गर्थेँ तर एक समय आएपछि मैले ब्रेक गरेँ । एउटा टाइम आएपछि चाहिँ छाडनु पर्छ तर दर्शकलाई धेरै प्रतिक्षामा राख्नु अपराध हो जस्तो लाग्छ’, रेखाले भनिन् ।
उनी थप्छिन्, ‘अभिनय राम्रो भएको, लुक्स राम्रो भएको र हिरोइजम भएको एउटा कलाकारले दर्शकको डिमाण्ड पूरा गर्नुपर्छ । राम्रो स्क्रिप्ट आए सबै चलचित्र गर्नुपर्छ । कलाकारले यसको गर्ने र यसको नगर्ने भन्ने हुँदैन ।’
प्रदीप, रेखाको सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्ने बताउँछन् । ‘मैले विस्तारै ग्याप घटाउँदै लगेको छु । ‘प्रेमगीत’ बाट ‘प्रेमगीत २’ आउँदा १ वर्ष ३ महिना, ‘लिलिबिली’ आउँदा ८ महिना र अब ‘रोजी’ आउँदा ६ महिना ग्याप हुन्छ ।’ उनले भोलीका दिनमा दर्शकलाई धेरै समय प्रतिक्षामा नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पहिलो पटक मिडियामा सँगै भेटिएका दुवैले एकअर्काको एकअर्काको तारिफ पनि गरे । प्रदीपले रेखालाई बोल्ड र महानायिका भन्दा रेखाले प्रदीपको अभिनयको आफू फ्यान रहेको बताइन् । रेखा र प्रदीपले भविष्यमा राम्रो प्रोजेक्ट मिले सँगै काम गर्ने पनि बताए ।