विकाश बस्याल निर्देशित चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार ४०-५० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्रको शनिवार देशभर ७०-७५ प्रतिशत अकुपेन्सी रहेको निर्माता डालचन्द्र दवाडीले जानकारी दिए ।
शनिवार दिउँसो चलचित्रका अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तमन्ना केसी राजधानीका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझे । साथै, दर्शकसँग सेल्फी पनि खिचे । चलचित्र हेरेका दर्शकले ‘तिमी हुन्छौ जहाँ जहाँ’ लाई राम्रो बोलेका छन् ।
‘चलचित्रमा उठाईएको विषयवस्तु दर्शकले मन पराएका छन् । दर्शकको सकारात्मक प्रतिक्रियाले आगामी दिनमा समेत चलचित्रले राम्रो व्यापार गर्न सक्ने आशा छ,’ निर्माता दवाडीले भने ।
मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको चलचित्र यसका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् ।
यसमा मलिना जोशी, विश्व बस्नेत, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।