अभिनेता अनमोल केसी अचेल नयाँ चलचित्र ‘क्याप्टेन’ को छायांकनमा व्यस्त छन् । यसपछि उनले झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सले निर्देशन गर्ने ‘ब्याचलर बन्टी’ गर्दैछन् । हालसालै उनले एक बलिउड चलचित्र पनि साइन गरेका छन् ।
अनमोलले यी तीनवटै चलचित्रमा महँगो पारिश्रमिक बुझेका छन् । वर्षमा एउटा मात्र चलचित्र गर्ने अनमोल किन लगातार नयाँ चलचित्र साइन गरिरहेका छन् ? कतै पैसामुखी भएका त होइनन् ? उनीबाट दर्शकले जवाफ खोजिरहेका छन् ।
शनिवार राजधानीमा ‘अनमोल इभ’ को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता केसीले यस विषयमा मुख खोले ।
उनी भन्छन्, ‘म पैसाको पछाडि पर्ने भएको भए पहिला देखि नै भटाभट चलचित्र गर्थेँ होला । नेपालमा राम्रो स्क्रिप्ट कहिले पाउँछ भन्ने नै थाहा हुँदैन । मैले एकैचोटी राम्रो स्क्रिप्टहरु पाएँ अनि गर्न लागेको हुँ ।’
‘सबै चलचित्र एकैपटक रिलिज हुने होइन । केही महिनाको अन्तरमा रिलिज हुन्छन् । यो मेरो करिअरको पाइपलाइन मात्र हो । कहिलेकाहिँ खोजिरहेको बेला राम्रो स्क्रिप्ट पाइदैन । एउटा राम्रो स्क्रिप्ट आएपछि छाड्नु हुँदैन भन्ने लागेर काम गर्न तयार भएको हुँ’, उनले भने ।
नेपाल बाहिर अडियन्स बनाउनका लागि बलिउड चलचित्रमा आफू आबद्ध भएको पनि उनले खुलाए । ‘नेपाल प्रमोट गर्न सक्छु कि भन्ने लागेर बलिउड चलचित्र गर्न लागेको हुँ’, अनमोल अगाडि भन्छन्, ‘उक्त चलचित्र नेपाली भाषामा पनि डब भएर रिलिज हुनेछ ।’