रोजीका परिवारले राखे ‘रोजी’ को नाम परिवर्तन गर्नुपर्ने अडान



चलचित्र विकास बोर्डको ठाडो निर्देशनमा छायांकन रोकिएको अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘रोजी’ को सुटिङ अब बिहीवारबाट सुचारु हुने भएको छ । रोजी महर्जनको हत्या प्रकरणमा चलचित्र बन्न लागेको समाचार बाहिरिएपछि उनका परिवारले पटक-पटक विकास बोर्डमा चलचित्रको छायांकन रोक्न मौखिक दवाव दिएका थिए ।

तत्काल सुटिङ नरोके प्रहरीमा जाने महर्जन परिवारको निर्णय पश्चात् निरक पौडेल निर्देशित चलचित्रको छायांकन बीचमै रोकिएको थियो । बोर्ड अध्यक्ष निकिता पौडेलले ‘रोजी’ टिमलाई चलचित्रको कथा महर्जनका आमा-बुबालाई देखाउन र सहमती नहुँदासम्म छायांकन रोक्न निर्देशन दिएकी थिइन् ।

बुधवार दिउँसो पुनः चलचित्र विकास बोर्डमा रोजी महर्जनका आमा-बुबा र फिल्म ‘रोजी’ का निर्देशक निरक पौडेल, अभिनेता प्रदीप खड्कासहितको टिम सहमती जुटाउन आमने-सामने भए । महर्जन परिवारलाई निर्माण टिमले चलचित्रको पूरा स्क्रिप्ट सुनाएको छ ।

झण्डै २ घण्टा लामो वार्तापछि रोजी महर्जनका परिवारले चलचित्रको छायांकन सुचारु गर्न बाटो छाडिदिएका छन् । तर, चलचित्रको नाम परिवर्तन गर्न र फिल्म बनिसकेपछि पूरा हेर्ने अडान महर्जन परिवारको छ । निर्देशक निरक पौडेलका अनुसार, बिहीवारबाट चलचित्रको छायांकन पुनः सुरु हुनेछ ।

उनी भन्छन्, ‘अब चलचित्रको छायांकन पूरा गर्नेछौ । यसपछि महर्जनको परिवारलाई फिल्मको केही अंश देखाउने छौ ।’ अबको एक महिनापछि रोजी महर्जनको परिवारसँग फेरि ‘रोजी’ टिमको वार्ता हुनेछ ।

चलचित्रको नाम परिवर्तन हुन्छ ? निरक भन्छन्, ‘चलचित्रको सुटिङ ‘रोजी’ नामबाटै सकिनेछ । अब एक महिनापछि फेरि हामी उहाँहरुसँग बस्नेछौ । त्यसबेला फिल्मका केही मेजर सिनहरु उहाँहरुलाई देखाउने छौ । चलचित्रको नाम परिवर्तन हुन्छ वा हुँदैन त्यो एक महिनापछि मात्र थाहा हुन्छ ।’


रोजी महर्जनकी आमाले भने आफ्नी छोरीको कथामा चलचित्र बनाउन दिँदै नदिने भन्दै एकोहोरो रटान लगाइन् । ‘समाचारमा सत्यघटनामा फिल्म बन्न लागेको भनेर आएको छ । छोरीको नामबाट फिल्म बनाउन दिँदैनौं र बनिसकेपछि हामी पूरा चलचित्र हेर्छौँ । त्यसपछि मात्र के गर्ने भन्ने टुंगो लाग्छ’, रोजीकी आमाले भनिन् ।

रोजी महर्जनको परिवारलाई निर्माण टिमले फरक स्क्रिप्ट सुनाएको शंका छ । यसकारण उनीहरु चलचित्र तयार भइसकेपछि पूरा हेर्न चाहन्छन् । रोजीका परिवारले बुधवार ‘रोजी’ टिमले सुनाएको स्क्रिप्टमा भने आपत्ति जनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu