असार ८ गतेबाट देशव्व्यापी प्रदर्शनमा उत्रन लागेको नेपाली चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम मोफसल प्रचार सकेर राजधानी फर्किएको छ । चार दिनको मोफसल टुरमा कलाकारसहित निर्माण टिम पोखरा, बुटवल, चितवन, हेटौँडा, धरान र बिराटनगर पुगेको थियो ।
मोफसल यात्राको क्रममा चलचित्रको विषयमा सञ्चारकर्मीहरुलाई जानकारी दिँदै कलाकारहरुले दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार पनि गरे । मोफसलका विभिन्न कलेज पुगेर कलाकारले विद्यार्थीलाई चलचित्रको विषयमा जानकारी समेत दिएका थिए ।
निर्माता डालचन्द्र दवाडीले मोफसल टुर उपलब्धिमुलक बनेको बताए । दवाडीसँगै अभिनेत्री मलिना जोशी, अभिनेता मनिष सुन्दर श्रेष्ठ, नव-अभिनेत्री तमन्ना केसी, कार्यकारी निर्माता प्रकाश बाँस्कोटा, निर्देशक विकाश बस्याल सहितको टिम मोफसल यात्रामा निस्किएको थियो ।
यसको कथा निर्देशक आफैंले लेखेका हुन् । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।
मदन दवाडी र हरीप्रसाद अधिकारी पनि निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को सह-निर्मातामा विना कार्की छिन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।