प्रदीपको ‘रोजी’ छायांकन रोकियो, आखिर किन ?



युवा स्टार प्रदीप खड्काको नयाँ चलचित्र ‘रोजी’ ठूला झमेलामा परेको छ । २०६८ साल साउन २० गते आफ्नै प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले रोजी महर्जनको हत्या गरेको कथामा यो चलचित्र आधारित रहेको समाचार बाहिरिएपछि अन्ततः बिहीवारबाट ‘रोजी’ को छायांकन नै रोकिएको छ ।

रोजीको परिवारले मृत छोरीमाथी अन्याय भएको हुनसक्ने भन्दै चलचित्र विकास बोर्डमा चलचित्रको छायांकन रोक्न मौखिक दवाव दिएका थिए । चलचित्रको सुटिङ तत्काल नरोके प्रहरीमा उजुरी दिने महर्जन परिवारको निर्णयपश्चात् विकास बोर्डले बिहीवार चलचित्रको सम्पूर्ण छायांकन तत्काल रोक्न निर्देशन दिएको छ ।

बिहीवार सुटिङ नै रोकेर ‘रोजी’ टिम महर्जनको परिवारसँग छलफल गर्न चलचित्र विकास बोर्ड पुगेको थियो । चलचित्रका निर्देशक निरक पौडेलले भने, ‘रोजी महर्जनको परिवारले चलचित्रको सुटिङ रोक्न आग्रह गरेपछि चलचित्र विकास बोर्डबाट हामीलाई फोन आयो । सुटिङ रोकेर हामीले महर्जनको आमा-बुबासँग छलफल पनि गर्‍यौ तर निश्कर्षमा पुग्न सकेनौ । आउँदा बुधवार २ बजे पुनः छलफल हुनेछ ।’


उनले महर्जन परिवारले चलचित्रको नाम परिवर्तन गर्न आग्रह गरेको बताए । उनका अनुसार, अब छलफल निश्कर्षमा नपुगेसम्म ‘रोजी’ छायांकन रोकिनेछ । निर्देशक निरक रोजी महर्जनको हत्या प्रकरणसँग ‘रोजी’ को कथा नमिल्ने दाबी गर्छन् ।

‘रोजी महर्जनको कथासँग चलचित्रको छेउटुप्पो केही मिल्दैन । हाम्रोे कथा विल्कुलै फरक छ’, उनले भने । निर्देशक पौडेलले रोजी महर्जनको हत्या प्रकरणसँग चलचित्र आधारित नभएको बताएपनि ‘रोजी’ मा आफ्नै प्रेमीले प्रेमिकाको हत्या गरेको सिन छ । जुन रोजी महर्जनको हत्या प्रकरणसँग मिल्छ ।

विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले रोजीको परिवारलाई कथा देखाएर, सहमती जुटाएर मात्र छायांकन सुरु गर्न ‘रोजी’ टिमलाई ठाडो आदेश दिएकी छन् । तपाईहरुलाई जानकारी रहोस्, ‘रोजी’ का निर्देशक निरक बोर्ड अध्यक्ष पौडेलका भाई हुन् ।

चलचित्र ‘रोजी’ मा प्रदीपका अलावा परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रको एक गीतसहित २० दिनको छायांकन बाँकी छ । लगानीको हिसाबले यसले आफूहरुलाई ठूलो घाटा हुने निर्देशक पौडेल दुखेसो गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu