नेपाली भूमि बचाउन बनेको ‘उपरदाङ्ग गढी’मा ‘नालापानी’ छायांकन



यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले ‘नालापानी’ यूनिट चितवनको ऐतिहासिक स्थान ‘उपरदाङ्ग गढी’मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए ।

‘उपरदाङ्ग गढी’को छायांकन सकिँदा चलचित्रको नब्बे प्रतिशत छायांकन सकिने र बाँकी दश प्रतिशत छायांकन राजधानीमा हुने बताइएको छ । नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिईएको यो चलचित्र विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन भएको छ ।

उपरदाङ्ग गढी चितवनको पुरानो सदरमुकाम हो । सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको बताईन्छ । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्छ । समुद्रि सतहदेखि १२७५ मिटर उचाइमा पर्ने यो किल्ला तल्कालीन बाइसे-चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भुमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएको इतिहास छ ।

गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ ।

‘नालापानी’को छायांकन उपरदाङ्ग गढीमा नै गर्नुपर्ने आवश्यकता रहेकोले यहि स्थान रोजेको निर्माता मनोज शाक्यले बताए । ‘अत्यन्तै साँघुरो बाटोमा नेपाल आर्मीको गाडी लिएर पुग्नु निकै जोखिम पुर्ण थियो । नालापानीमा यहि स्थान नै चाहिने भएकोले हामीले जोखिम मोलेरै भएपनि छायांकन गरेका हौँ’, निर्माता शाक्यले बताए ।

भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरिरहेका छन् ।

निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले चलचित्र छायांकन सम्भव नभएको बताए । ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ । सम्भवत नेपालमा कुनै पनि चलचित्र यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’ ।

हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।

त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।

कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्दमा प्रस्तुत गरेको वीरता तत्कालिन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाईँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो ।

यसै बिषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित ‘नालापानी’ बनिरहेको छ ।

‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस चलचित्रमा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu