‘प्रेमगीत २’ निर्देशक रामशरण पाठक निर्देशित नयाँ चलचित्र ‘सयकडा दश’ छायांकन पूरा भएको छ । सुटिङ सकिएसँगै निर्माताले अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड तस्बिर सार्वजनिक गरेका छन् ।
काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा खिचिएको यस फिल्ममा पहिलोपटक अमृत र करुणाले जोडी बाँधेका हुन् । मंसिरमा रिलिज लक्ष्य राखिएको चलचित्रलाई त्यसअगाडि च्यारिटी अभियान चलाउने तयारी गरिएको छ ।
भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्ष यसको केन्द्रिय द्वन्द्व हो । चलचित्रले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभावको कथा बोल्छ ।
यसमा राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको पनि अभिनय छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।
युट्युवस्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशला गुरुङ र सन्देश पाठकसँग सहकार्य गरेका छन् । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ ।