काठमाण्डौ। ‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौ अडिशन मिति तोकिएको छ । अडिशन दरबारमार्गस्थित दरबार लञ्जमा असार ३ गते हुने बताईएको छ ।
यूवा कलाकारहरुको समेत सहभागिता रहेको उक्त कम्पनीले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो । हाल राजधानीका विभिन्न क्याम्पसहरुमा विभिन्न कलाकारहरुको साथमा क्याम्पेनिङ्ग भईरहेको छ । यो कार्यक्रम आयोजना टीममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् भने अन्य केहि कलाकर्मीले साथ दिईरहेका छन् ।
देशभरका प्रतिभालाई नेपाली चलचित्र तथा संगीत क्षेत्रमा बिशेष अवसर दिने उद्देश्यका साथ आयोजना भएको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को देशभरका दश शहरमा अडिशन हुनेछ । प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाण्डौ सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ-छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।
दश वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली चलचित्रमा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिईनेछ ।
काठमाण्डौ उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । आठवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौमा नै आयोजना हुने बताईएको छ ।
प्रतियोगिताको आवेदन वितरण भईरहेको छ । प्रतियोगितामा सहभागि हुनको लागि एसएमएस मार्फत पनि आवेदन दिन सकिनेछ । त्यसको लागि SMS बक्समा गई ‘Empror <space> Your Name, age, gender and location’ टाइप गरी 31003 मा पठाउनु पर्नेछ । साथै, दशवटै शहरका विभिन्न स्थानहरुबाट समेत आवेदन फारम प्राप्त हुने बताईएको छ ।