अन्ततः अभिनेता राजेश हमालले नयाँ चलचित्र साइन गरेका छन् । ‘सकुन्तला’ निर्देशक दिनेश श्रेष्ठले निर्देशन गर्ने नयाँ चलचित्रमा उनले काम गर्न लागेका हुन् । यस चलचित्रमा अभिनेता हमालको नै प्रमुख भूमिका थियो ।
शनिवार आफ्नो ५४ औं जन्मदिनको अवसरमा निर्देशक श्रेष्ठ र निर्माता शिवराज कार्कीबाट उपहार स्वरुप प्राप्त केक काट्दै अभिनेता हमालले आफू नयाँ चलचित्रमा काम गर्न लागेको जानकारी दिए ।
बिग बजेटमा निर्माण हुने बताइएको अनटाइटल प्रोजेक्टमा हमालको विल्कुलै फरक भूमिका रहने निर्देशक श्रेष्ठले जानकारी दिए । पहिलो र दोस्रो चरण पार गरेर यतिबेला निर्माण टिम तेस्रो चरणमा पुगेको छ ।
उनले भने, ‘यो चलचित्रका लागि हामी धेरै महिनादेखि काम गरिरहेका थियौँ । राजेश दाई स्वयम ७ महिना स्क्रिप्टमा बस्नुभयो । अन्ततः आफ्नो जन्मदिनमा चलचित्र साइन गर्नुभएको छ ।’ उनी चलचित्रमा अभिनेता हमालको पृथक भूमिका रहने बताउँछन् ।
यस चलचित्रमा राजेश हमालसँगै चार अभिनेत्रीको पनि लिड रोल रहनेछ । अभिनेत्रीको भने खोजी भइरहेको छ । हाल दुई नायिकासँग छलफल चलिरहेको निर्देशक श्रेष्ठले बताए । अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्की निर्माताको रुपमा रहनेछ ।
तिहारपछि छायांकन हुने बताइएको चलचित्रको कथा निर्देशक श्रेष्ठ आफैंले लेखेका छन् । उनी निर्देशित नयाँ चलचित्र ‘चिँ मुसी चिँ’ साउन ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।
भिडियो हेर्नुस् :-