आउँदो तिहारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालिका’ को प्रचार-प्रसार अभिनेत्री तथा निर्देशक रेखा थापाले रुकुमबाट सुरु गरेकी छिन् । यो चलचित्रको सोमवारमात्र सुटिङ सकिएको हो ।
बुधबार उनले रुकुमको चौर जहारीमा पुगेर उपस्थित हजारौं दर्शकलाई फिल्मको बारेमा जानकारी दिइन् । उनले चौर जहारीका दर्शक आफ्नो पछिल्लो फिल्मलाई लिएर निकै उत्साहित भएको बताइन् ।
‘सुरुमा त उहाँहरुलाई नाम नै राम्रो लागेछ’, रेखाले सुनाइन्, ‘चलचित्रको मुख्य विषयवस्तु भनेपछि विशेष गरी महिलाहरु उत्साहित भएको पाएँ ।’
रेखाको आफ्नै निर्देशन रहेको ‘मालिका’ बालबिबाह अन्त्य र महिला शशक्तिकरणको विषयमा केन्द्रित छ । उनले देशका हरेक गाउँ तथा शरहरमा महिला शशक्तिकरण केन्द्रित कार्यक्रम गरिने समेत बताइन् ।
रुकुममा रेखा थापाप्रतिको क्रेज देखेर चलचित्रका कार्यकारी निर्माता नर बहादुर कार्की चकित भए । ‘रेखाजीलाई हेर्नकै लागि महिलाहरु घण्टौं हिँडेर चौर जहारीमा आएका थिए’, कार्कीले भने, ‘यसले दर्शकहरु नेपाली फिल्म र कलाकारप्रति उत्साहित छन् र माया गर्छन् भन्ने देखाउँछ ।’
‘मालिका’मा नर बहादुरको पनि अभिनय छ । चलचित्रमा रेखा र कार्कीसँगै जाजरकोटकी १४ वर्षीय बालिका कमला ओलीको पनि मुख्य भूमिका रहेको छ । शिवम् अधिकारी चलचित्रका स्क्रिप्ट राइटर हुन् ।