घोषणाको समयदेखि नै चर्चामा रहेको अभिनेता द्वय प्रशान्त ताम्राकार र सुशील सिटौला स्टारर चलचित्र ‘रणवीर’ आउँदो मङ्सिर १४ मा रिलिज हुने भएको छ ।
उपत्यकाको लागि स्टेसन फाइभ र मोफसलको लागि डिसीएनले चलचित्र वितरण गर्नेछन । यी दुई वितरण संस्थासँगकै छलफलपछि डेट तय गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
एक्सन, सस्पेन्स र थ्रिल मिश्रित चलचित्रको अब दुई गीतको मात्र छायांकन गर्न बाँकी छ । यतिबेला यसको पोष्ट प्रोडक्सनको काम भइरहेको छ । सुशील र प्रशान्तसँगै चलचित्रमा हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, जीवन भट्टराई, बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।
‘रणवीर’ मार्फत् शुभेच्छा खड्का र सुपुश्पा भट्ट चलचित्रनगरीमा डेब्यु गर्दैछन् । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको चलचित्रलाई ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा निर्माण गरिरहेका छन् ।
महेश पौडेलको छायांकन रहने चलचित्रमा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेल चलचित्रको कोरियोग्राफर रहेका छन् ।