अभिनेत्री तथा निर्मात्री ऋचा शर्मा स्टारर चलचित्र ‘सुनकेसरी’ प्रदर्शनको पाँच दिनमा करोड क्लवमा ईन्ट्री भएको छ । प्रदर्शनको पाँच दिनसम्ममा यो चलचित्रको अल नेपाल कलेक्सन १ करोड ४ लाख रहेको अभिनेत्री शर्माले जानकारी दिइन् ।
मंगलवार दिउँसो राजधानीको कुमारी हलमा अभिनेत्री शर्मा र निर्देशक अर्पण थापाले संयूक्त रुपमा करोडको केक काटेर खुसीयाली मनाएका छन् । १ करोड ३० लाखमा निर्माण भएको यो चलचित्रको कलेक्सन मल्टिप्लेक्समा राम्रो छ ।
हलिउड र बलिउडका कुनै ठूला चलचित्र प्रदर्शनमा नआउनुले यो फिल्मलाई ठूलो राहत मिलेको छ । केक काट्दै गर्दा ऋचाले भनिन्, ‘हामीले दर्शकबाट सबैखाले प्रतिक्रिया पायौं । हामीबाट धेरै कमी-कमजोरी भएका छन् । ‘सुनकेसरी-२’ मा भने ती कमजोरी परिपूर्ति गर्ने प्रयास गर्नेछौं ।’ ‘सुनकेसरी’ को सिक्वेल २०२० सम्म दर्शकले हेर्न पाउने उनले वाचा गरेकी छन् ।
यस चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् ।
उक्त चलचित्रमा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।