नेपालमा निर्माण भएका हरर चलचित्रले खासै राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा अभिनेत्री ऋचा शर्मा स्टारर चलचित्र ‘सुनकेसरी’ ले भने यतिबेला घरेलू बजारमा राम्रो व्यापार गरिरहेको छ ।
सिंगल ‘स्कृन’ मा ठिकठाक रहेको यो चलचित्रको विजनेश मल्टिप्लेक्समा राम्रो छ । १ करोड ३० लाखको लागतमा निर्माण गरिएको यो चलचित्रले प्रदर्शनको चार दिनमा ९६ लाख ग्रस कलेक्सन गरेको ऋचाले जानकारी दिएकी छन् ।
मंगलवारबाट चलचित्र करोड क्लबमा इन्ट्री हुने उनको विश्वास छ । ‘सुनकेसरी २’ निर्माण गर्ने घोषणा गरिएकी उनी दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित भएको सुनाउँछिन् । उनी भन्छिन्, ‘दोस्रो भागका लागि हामीले ठाउँ बाँकी राखेका छौं । लगानी सेभ भएपछि सिक्वेल निर्माणमा लाग्छौं ।’
दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको ‘सुनकेसरी’ हेर्ने अधिकांश १६/२० वर्षका युवायुवती र कपल बढी छन् ।
मल्टिप्लेक्समा उच्च शो पाएको यस चलचित्रको शुक्रवार र शनिवार मल्टिप्लेक्समा एडभान्स बुकिङ आक्रामक थियो ।
‘चलचित्र हेर्दा दर्शक तर्सिए कम हाँसे ज्यादा रे नी ?’ भन्ने प्रश्नमा ऋचा भन्छिन्, ‘हाँस्ने ठाउँमा हाँस्नुभयो अनि तर्सिने ठाउँमा तर्सिनुभयो । चलचित्रमा रबिन्द्र झाको कमेडी पाटो हाबी छ । यसैले त्यस्तो भएको हुनसक्छ ।’ उनी ‘सुनकेसरी’ को दोस्रो भागमा कमजोरी सुधार्ने वाचा गर्छिन् ।
यस चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
उक्त चलचित्रमा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।