अभिनेता अनमोल केसी निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ चलचित्रमा अनुवन्धित भएका छन् । आइतवार साँझ अनमोल र मिलनबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ ।
अनमोल अहिले आफ्नो छैठौं चलचित्र ‘क्याप्टेन’ मा व्यस्त छन् । यसपछि उनले झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ को सुटिङ ज्वाइन गर्नेछन् र त्यस लगत्तै मिलनको चलचित्रलाई समय छुट्याउने तालिका छ ।
अनमोल र मिलनबीच भएको सम्झौताको बखत ‘लिलिबिली’ निर्माता सुदिप खड्का, स्क्रिप्ट राईटर प्रदीप भारद्धाज र अनमोलका पीता भुवन केसी साथमा थिए । प्राप्त जानकारी अनुसार, यो चलचित्रको कथा प्रदीपले लेख्दैछन् ।
‘ए मेरो हजुर ३’ रिलिजको ठिक ६ महिनापछि मात्र मिलनको यो चलचित्र प्रदर्शनमा आउनेछ । चलचित्रलाई मिलन र सुदिपले संयूक्त रुपमा निर्माण गर्नेछन् । यसअघि मिलनले निर्देशन गरेको अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘लिलिबिली’ लाई सुदिपले निर्माण गरेका थिए ।
अनमोलको लिड रोल रहने चलचित्रको सम्पूर्ण छायांकन विदेशमा हुनेछ । अहिले निर्देशक चाम्स अनमोलको अपोजिटका लागि नायिका छनौटमा छन् ।