‘सुनकेसरी’ देशैभर हाउसफुल



अभिनेत्री ऋचा शर्मा अभिनीत तथा निर्मित हरर चलचित्र ‘सुनकेसरी’ ले प्रदर्शनको दोस्रो दिन शनिवार सिंगल र मल्टिप्लेक्स सबैतिर हाउसफुल कारोबार गरेको छ । प्रदर्शनको पहिलो दिन बिहानदेखि साँझसम्म ८०-८५ प्रतिशत आसपास अकुपेन्सी कायम गरेको यो चलचित्रले शनिबार लगभग शतप्रतिशत अकुपेन्सी कायम गरेको रिपोर्ट प्राप्त छ ।

शुक्रवार र शनिवार यस चलचित्रको मल्टिप्लेक्समा एडभान्स बुकिङ आक्रामक थियो । नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले यस चलचित्रलाई शुक्रवार १५ शो दिएपनि शनिवारका लागि १६ शोज उपलब्ध गराएको थियो । शनिवार बिहानैदेखि क्यूएफएक्स च्यानलका छायाँ, कुमारी, सिभिल, जय नेपाल, लविङको कुनै पनि शोजमा खाली सिट थिएनन् ।

यस्तै, विएसआर मुभिज, एफक्यूब, क्यूजलगायतमा पनि दर्शकको उपस्थिति शनिवार अपेक्षा गरेभन्दा राम्रो रहेको यस चलचित्रकी निर्मात्री तथा अभिनेत्री ऋचा शर्माले जानकारी दिइन् । सिंगल स्टेशनका हलमा शुक्रवार औषत रहेपनि शनिवार भने चलचित्र हेर्ने दर्शक बिहानैदेखि भरिभराउ थिए ।

मोफसलका पोखरा, चितवन, बुटवल, धरानलगायतका हलहरु पनि शनिवार हाउसफुल भएको ऋचा बताउँछिन् । सिंगलभन्दा यो चलचित्र हेर्ने दर्शकको संख्या मल्टिप्लेक्समा बढी छ । शनिवार बिहानैदेखि ऋचासहित निर्देशक अर्पण थापा, कलाकार रबिन्द्र झालगायतले राजधानीका हल-हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझे ।

दिउँसो ४ बजे कमलपोखरीको कुमारी हलमा दर्शकसँग साक्षात्कार गर्दैगर्दा भेटिएकी ऋचाले ‘सुनकेसरी’ देशभर हाउसफुल भएको खुसी साटिन् । उनी भन्छिन्, ‘मल्टिप्लेक्समा दर्शकको उपस्थिति उत्साहजनक छ । सिंगलमा शनिवार राम्रो छ । खुसी छु हाम्रो मेहनतलाई दर्शकले रुचाइदिनुभयो ।’

उनले ‘सुनकेसरी २’ निर्माण गर्ने घोषणा समेत गरिसकेकी छिन् । चलचित्र हेरेका अधिकांश दर्शकले कलाकार रविन्द्र झाको कमेडी पाटोलाई औधि रुचाएका छन् ।

प्रायः दर्शकले चलचित्र हेर्दा ‘तर्सिएको कम हाँसेको धेरै’ प्रतिक्रिया दिएका छन् । ऋचाले दर्शकको कमेन्टप्रति आफ्नो ध्यानआकृष्ट भएको बताइन् । उनी भन्छिन्, ‘हाम्रो कमजोरी नै छैन भनेका छैनौं । ‘सुनकेसरी २’ मा त्यो कमजोर हुन नदिने वाचा गर्छु ।’

निर्देशक अर्पण थापा दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूलाई थप जिम्मेवारी महशुस भएको बताए । उता ‘यादवजी’ उर्फ रबिन्द्र झा दर्शक प्रतिक्रिया सुनेर दंग देखिन्छन् । हलमा पुग्दा अधिकांश दर्शक उनलाई देखेपछि सेल्फी खिच्न झुम्मिएका थिए ।

यस चलचित्रमा ऋचा र रबिन्द्रका अलावा भीम न्यौपाने, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् ।

उक्त चलचित्रमा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu